काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोन इमास फाइभ दिँदै आएको ‘इन्ट्रोडक्टरी अफर’ समाप्त भएको छ ।
कम्पनीले इमास फाइभ लन्च गर्ने बेला पहिलो १०० ग्राहकलाई विशेष छुट दिँदै प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरियन्ट ३४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे थियाे ।
उक्त अफर सकिएसँगै अब इमास फाइभको आधिकारिक मूल्य लागू भएको छ । कम्पनीका अनुसार अब इमास फाइभको मूल्य प्राइम भेरियन्टको ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । अब इमास फाइभ किन्न चाहाने ग्राहकले यसअघिकोभन्दा प्राइममा ३ लाख र प्रिमियम भेरियन्टमा २ लाख रुपैयाँ थप तिर्नुपर्नेछ ।
जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेकाे इमास फाइभ बनाएकाे हाे । याे नेपालमा गत साउन ४ देखि बिक्री सुरू भएको थियो ।
इमास फाइभ प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा २२५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर छ । जसले १५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३२५ किमी रेन्ज दिन्छ ।
रियर ह्वील ड्राइभ सिस्टम भएको इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस छ ।
यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर मध्ये छान्न सकिने एम्बियन्ट लाइट, किलेस इन्ट्री पाउन सकिन्छ ।
यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायतका फिचरहरू उपलब्ध छन् । इमास फाइभको टर्निङ रेडियस ४.९५ मिटर मात्रै छ । जसको कारण सहरी क्षेत्रमा चलाउन सहज हुनेछ ।


