निसानको चर्चित एसयूभी नेपाल आउने

काठमाडौं । निसानको चर्चित एसयूभी एक्स-ट्रेल नेपाल आउने भएको छ । एक्स-ट्रेलकाे नयाँ जेनेरेशन माेडल नेपाल आउन लागेको हो ।

जापानीज कम्पनी निसानले विश्व बजारमा बिक्री गर्दै आएको एक्स-ट्रेलको नयाँ जेनेरेशन मोडल २०२२ को अन्तिममा आएको थियो । त्यही एक्स-ट्रेल काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाडा अटो शो २०२३’मा सार्वजनिक हुन लागेको हो ।

‘हामीले एक्स-ट्रेल नेपालमा बिक्री सुरु गर्ने तयारी गरिरहेका छौं । अहिले मूल्य लगायतका विषय टुङ्गीएको छैन । तर, अटो शोमा नेपाल आउने भने पक्का भएको छ’, पायोनियर मोटोकर्प स्रोतले भन्यो ।

विश्व बजारमा निकै राम्रो रिभ्यू पाएको एक्स-ट्रेलको छैटौं जेनेरेशन मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको हो । कम्पनीले ‘सिएमएफ-सी’ प्लेटफर्ममा तयार गरेको यो मोडलको सिधा प्रतिस्पर्धा मित्सुवीसी आउटल्याण्डर र टोयोटा र्याभफोरसँग हुँदै आएको छ । यी दुबै एसयूभी नेपालमा राम्रो संख्यामा बिक्री हुने मोडलमा पर्छन् ।

नयाँ जेनेरेशन एक्स-ट्रेलमा कम्पनीको चर्चित भी सेप ग्रोम ग्रिल पाउन सकिन्छ । न्यू एलइडी हेडल्याम्प, हेडल्याम्प माथि दिइएको पार्किङ र एलइडी डे टाइम रनिङ लाइटले यसको फ्रन्ट लुक्स आकर्षक देखिन्छ ।

साधारण डिजाइनमा धेरै सुविधा भन्ने कुरालाई ध्यानमा राखेर तयार पारिएको एक्सट्रेलको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । ७ सिट क्षमतामा आउने यो एसयूभीमा १.५ लिटर क्षमाताको हाइब्रिड इन्जिन पाउन सकिन्छ । रेगुलर मोडलमा २.५ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन पनि उपलब्ध छ ।

पायोनियर मोटोकर्पले हाइब्रिड वा नेचुरल्ली एस्पीरेटेड इन्जिन मध्ये कुन इन्जिन ल्याउन लागेको हो भन्ने विषयमा पनि कुनै जानकारी दिएको छैन । यो थाहापाउन भने आगामी भदौ २६ गतेबाट हुने नाडा अटो शो २०२३ कुर्नु पर्ने हुन्छ ।


Back_to_top