कियाको अर्को इलेक्ट्रीक एसयूभी तयार, चाँडै बजारमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले नयाँ इलेक्ट्रीक एसयूभी तयार गरेको छ । केही महिना अगाडि मात्रै ईभी-९ एसयूभी सार्वजनिक गरेको कम्पनीले नयाँ मोडल ईभी-५ तयार गरेको हो ।

ईभी-५ अगाडि कम्पनीले ईभी-६ क्रसओभर र ईभी-९ एसयूभी सार्वजनिक गरेको थियो । यी दुबै मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ भने ईभी-६ नेपालमा पनि बिक्री सुरु गर्ने तयारी भइरहेको छ । आगामी भदौं २६ गतेबाट हुने नाडा अटो शो २०२३ मा ईभी-६ सार्वजनिक हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा ४० हजार अमेरिकी डलरभन्दा कम सुरुवाती मूल्य रहने अनुमान गरिएको ईभी-५ सिंगल चार्जमा ६०० किलोमिटर हाराहारी रेन्ज दिने क्षमताको हुने अनुमान गरिएको छ ।

‘दी कोरियन कार ब्लग’का अनुसार कियाले ईभी-५ मा ८२ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । कम्पनीले यसलाई ईभी-६ भन्दा तल राखेर बजारमा ल्याउने छ । त्यसैले यसको उत्पादन ४०० भोल्ट सिस्टममा गरिएको दावी पनि दी कोरियन कार ब्लगले गरेको छ ।

कियाले यसलाई आगामी महिना हुने ‘छेन्डु मोटर शो’बाट सार्वजनिक गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाई र बीवाइडी एटो-थ्रीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको ईभी-५ सुरुमा चिनियाँ बजारबाटै बिक्री सुरु हुनेछ । यहि वर्षको अन्त्यबाट चीनमा यसको बिक्री सुरु हुने अपेक्षा गरिएको छ ।


Back_to_top