काठमाडौं । तपाई प्रविधिमैत्री हुनुहुन्छ भने मैले यहाँ धेरै कुरा भनिरहनै परेन । मैले लेखेका धेरै विषय तपाईलाई पहिल्यै थाहा भएकै हुन्छन् । तर, तपाई खासै चासो दिएर नयाँ इनोभेशनलाई हेर्नुहुन्न भने मैले यहाँ लेखेका विषय तपाईको लागि चाखलाग्दो हुनसक्छ ।
केहि दिन अगाडि मैले हुन्डाई आयोनीक ५ इलेक्ट्रीक कार चलाइरहेको थिए । मसँग एक जना साथी पनि रहेको थिए । उसले मलाई गाडीमा रहेका फिचरको विषयमा सोध्दा मैले बताउन थाले । उसले बीचमै प्वाक्कै बोल्यो ‘आजकलका गाडी त पुरै स्मार्टफोन जस्ता पो भएछन् त ।’
आजकल कार तपाईको अफिस कोठा, घरको लिभिङ, स्मार्टफोन जस्ता पक्कै भए । मनमनै साथीलाई केही बताउने प्रयास गर्दै थिए ।
उ फेरी बोल्यो ‘गाडीमा बसेर गुगल म्यापमा आफ्नो गन्तब्य राखेपछि गाडीले आफैँ पुर्याउने दिन पनि आउँछ कि के हो ? मैले साथीको जिज्ञासा मेट्नु पर्छ भन्ने ठानेर उसलाई ‘अटोनोमस ड्राइभिङ सिस्टम’को विषयमा थारै बताए ।
त्यसपछि उसले सोध्यो यस्ता कार कहिले नेपाल आउँछन् ?
त्यसमा मसँग पनि ठ्याक्कै उत्तर थिएन । मैले भने नेपालमा ल्याउन त सकिन्छ तर, चलाउन सकिदैन । यो टेक्नोलोजीले बुझ्ने र पढ्न सक्ने रोड साइनेज, रोड मार्किङ, पार्किङ र ट्राफिक संकेतहरु छैनन् । यहाँ त जसले पनि जताबाट पनि ल्याएर ठोकिदिन्छ होला ।
एउटा गन्तब्यमा साथी ओर्लियो मलाई थप सोच्न बाध्य बनायो ।
नेपालमा पनि कारको प्रयोग सुरु भएको ६० वर्षभन्दा धेरै भयो । अझ राजामहाराजले बोकाएर ल्याएको कारको इतिहास लामै छ । हामीले निजी कार चढ्न पाएको पनि २०/२५ वर्ष भयो । यहाँ बिक्री हुने कारमा परिवर्तन भयो । तर, हाम्रा पूर्वाधार नयाँ टेक्नोलोजी प्रयोग गर्न मिल्ने किसिमको भएन ।

मैले कार चढ्ने बेला रेडियो कारको मुख्य फिचर थियो । त्यसैले त यातायात विभागले दिने विलबुकमा रेडियो छ/छैन भन्ने कोलम राखिएको छ । हातले घुमाउँदै झ्यालका सिसा खोल्ने दिन सकियो । डिजिटल क्लष्टर, इन्फोटेन्टमेन्ट सिस्टम, पार्किङ सेन्सर, रिभर्स क्यामेरा, एयरब्याग, डिस्क ब्रेक जस्ता फिचर सबै कारमा पाउन थालियो । यी सबै प्रविधीको कमाल हो ।
मैले कार चलाउन सिक्दा ड्राइभिङ सेन्टरमा ए, बी, सी भनेर बढाएको अझै ताजा छ । एबाट एक्सीलेटर, बीबाट ब्रेक र सीबाट क्लच भनिएको थियो । अहिलेका कारमा ‘सी’ नै हराउन थाल्यो । अटोमेटीक कार र विद्युतीय कारमा ‘सी’ पूर्णरुपमा हरायो । गाडीबाट सी हराउँदा देब्रे खुट्टा र देब्रे हातले आराम पायो । गाडी उठाउनै सकस मान्नेको लागि सजिलै गाडी गुड्ने अवस्था आयो ।
ईभी चलाएको बेला मेरो मेरो ८ वर्षको छोरोले भन्ने गर्छ, ‘यस्तो गाडी त पनि चलाई दिन्छु !’

यस्ता कारमा स्टेरिङ ह्याडण्ल गर्ने र चाहिएको पावर गाडीलाई प्रदान गर्नु मात्रै चालकको काम हो । यदि हाइवेमा गाडी चलाइरहेको अवस्था हो भने क्रुज कन्ट्रोलको प्रयोग गरेर एक्सीलेरेटर थिच्ने कष्ट पनि गर्नु पर्दैन ।
कहिलेकाहिँ छोरा पनिसँगै हुँदा उसले मलाई सोध्छ साँच्चै मैले गाडी चलाउन सिक्नु पर्दैन । उ पनि अटोनोमस ड्राइभिङ टेक्नोलोजीका बारेमा चासो राख्ने भएको कारण सोधेको हुनुपर्छ भन्ने मेरोमनमा लाग्छ । अनि भन्छु, ‘हाम्रो बाटाहरु राम्रो भएभने नपर्न पनि सक्छ ।’
उकालोमा गाडी चलाउन सहज बनाउने हिल होल्ड कन्ट्रोल, ओरालोमा गाडी चिप्लन रोक्ने हिल डिसेन्ट कन्ट्रोल, तपाई चलाउने बाटोको अवस्था अनुसार ड्राइभिङ मोडसमेत तपाईले पाउन सक्नुहुन्छ । योभन्दा पनि बढी टेक्नोलोजीको विकास भइसकेको छ । त्यसका विषयमा हामी क्रमिक रुपमा लेख्दै जान्छौं ।
(भाग-२ मा अटोमोवाइलका नयाँ टेक्नलोजीको फिचरको बारेमा लेख्ने छु ।)

