मूल्यमा ठूलो अन्तर, फिचरमा कडा टक्कर भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकल बिक्रीको आधारमा नेपाल निकै राम्रो बजार मानिन्छ । यहाँ नयाँ मोटरसाइकल किन्ने र चढ्ने मान्छेको संख्या बढ्दै गएको छ ।

कुनै समय १५० सीसीसम्मका मोटरसाइकलको बिक्री उच्च हुने गरेकोमा अहिले त्यही सेग्मेन्टमा स्कुटरको बिक्री उच्च छ । मोटरसाइकल किन्नेले २०० सीसी माथिका मोडललाई रुचाउन थालेका छन् ।

नेपाली बजारमा आकर्षक बनावट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल धेरै छन् । सँगै नयाँ नयाँ ब्राण्डहरु पनि आउने क्रम जारी छ ।

मोटरसाइकलको क्रेज बढेसँगै कम्पनीहरुले नयाँ मोडलहरु पनि ल्याइरहेका छन् । यसै क्रममा जोन्टेस ब्राण्डले जेडटी ३१० टी मोडल नेपाल ल्याएको छ । नयाँ मोडल जोन्टेस ३१० टीको प्रतिस्पर्धा बीएमडब्लू जी ३१० जीएससँग हुने देखिन्छ ।

त्यसैले हामीले यी दुई मोटरसाइकल बीच रहेका तुलनात्मक भिन्नतालाई यहाँ प्रस्तुत गरेका छौं ।

इन्जिन

जोन्टेस जेडटी ३१० टीमा ३१२ सीसी क्षमता भएको सिंगल सिलिन्डर, फोर भल्ब, लिक्वीड कूल्ड र वाटर कूल्ड एफआइ यूरो ५ इन्जिन रहेको छ । उक्त इन्जिनले ३५ ब्रेकहर्स पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।

बीएमडब्लू जी ३१० जीएसमा ३१३ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, सिंगल सिलिन्डर, फोर भल्ब फ्युल इन्जेक्सनले ३४ ब्रेकहर्स पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पावर र टर्कमा जोन्टेस ३१० टी मोडल केही राम्रो देखिन्छ ।

सस्पेन्सन र ब्रेक

दुबै मोटरसाइकलमा अगाडि र पछाडि ड्यूल डिस्क ब्रेक दिएको छ भने डबल च्यानल एबीएस पाउन सकिन्छ ।

जोन्टेसमा अगाडि यूएसडी फर्क र पछाडि सेन्टर मोनोशक एब्जर्बर पाउन सकिन्छ । बीएमडब्लूमा अगाडि अपसाइड डाउन फर्क र पछाडि प्रि–लोडेड एड्जस्टेवल मोनोशक छ ।

फिचर

फिचरमा निकै कडा प्रतिस्पर्धा देखिन्छ । बीएमडब्लू जी ३१० जीएसमा एलइडी हेडलाइट, एलइडी टेल लाइट, एलसीडी डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइड बाय वायर टेक्नोलाजी, आल्मुनियम स्वीङ आर्म जस्ता फिचर छन् ।

त्यसैगरी जोन्टेस जेडटी ३१० टीमा पनि सबै लाइट एलइडी पाउन सकिन्छ । वाटर कुलिङ सिस्टम, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, एड्जस्टेवल विन्ड स्क्रीन र असिस्ट स्लिपर क्लच जस्ता फिचर छन् ।

मूल्य

हिमालयन मोटोरार्डले बिक्री गर्दै आइरहेको बीएमडब्लू जी ३१० जीएस बीएस ६ र बीएस ४ दुई भेरियन्टमा उपलब्ध छ । बीएस ४ को मूल्य ९ लाख ५० हजार र बीएस ६ को मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

जोन्टेस ३१० टी पनि दुई भेरियन्ट उपलब्ध छ । यसलाई कम्पनीले रेगुलर र सिंगल स्वीम आर्म भेरियन्टमा उपलब्ध गराएको छ । जोन्टेस ३१० टी रेगुलरको मूल्य ८ लाख ९९ हजार ९०० र सिंगल स्वीम आर्म भेरियन्टको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top