मोटरसाइकल आयात निरन्तर ओरालो, ईभी झनै कमजोर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा दुई पाङ्ग्रे साधनको आयातमा भारी गिरावट आएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३५ प्रतिशतभन्दा धेरैले आयात कम भएको हो ।

अघिल्लो आवको पहिलो महिना साउनमा १८ हजार ७२४ यूनिट पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटर आयात भएकोमा चालु आवको साउन महिनामा १२ हजार यूनिट मात्रै आयात भएको देखिन्छ ।

समग्र दुई पाङ्ग्रे साधनको आयात घट्दो अवस्थामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तर, अघिल्लो वर्षको तुलनामा २०० सीसीदेखि ४०० सीसी सेग्मेन्टका मोटरसाइकलको आयात भने बढेको देखिन्छ ।

अघिल्लो वर्षको साउन महिनामा ४० यूनिट तयारी अवस्थाका मोटरसाइकल भारतबाट आयात भएको थियो । तर, अहिले साउनमा भने १ हजार ४२० यूनिट अनएसेम्वल अवस्थामा मोटरसाइकल आयात भएका हुन् ।

यो सेग्मेन्टमा बजाज डोमिनार र रोयल इनफिल्डका मोटरसाइकल भारतबाट अनएसेम्वल अवस्थाका आयात हुने गरेका छन् ।

त्यस्तै, इलेक्ट्रीक तर्फभने निरासाजनक अवस्था देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नै लगभग ६० प्रतिशत हाराहारीले आयात खुम्चेको विद्युतीय दुई पाङ्ग्रे केबल ३७६ यूनिट आयात भएको छ ।

अघिल्लो आवको सोही अवधिमा ९०१ यूनिट इलेक्ट्रीक स्कुटर र मोटरसाइकल आयात भएको थियो । इलेक्ट्रीक दुई पाङ्ग्रेमा पनि चीनबाट हुने आयातको तुलनामा भारतबाट आयात हुने आयात ८० प्रतिशतले गिरावट आएको हो ।

अघिल्लो आवको साउनमा भारतबाट २८६ यूनिट दुई पाङ्ग्रे आयात भएकोमा यो वर्ष केबल ६२ यूनिट मात्र आयात भएको हो । चीनबाट हुने आयात भने ६० प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष साउनमा चीनबाट ६१५ यूनिट आयात भएकोमा अहिले साउनमा २४१ यूनिट आयात भएको हो ।


Back_to_top