विश्वभर सन् २०३० भित्र ईभीको बजार हिस्सा ८६ प्रतिशत पुग्न सक्ने

काठमाडौं । रक्की माउण्टेन इन्स्ट्रीच्यूटले गरेको एक अध्ययन अनुसार सन् २०३० सम्ममा विश्व अटोमोवाइल बजारमा न्यू इनर्जी भेहिकलको बजार हिस्सा ६२ देखि ८६ प्रतिशतसम्म पुग्न सक्ने रिपोर्ट सार्वजनिक गरेको छ ।

विगतमा विश्वभर वृद्धि हुँदै गएको पेट्रोलियम पदार्थको माग आगामी दशकबाट क्रमिकरुपमा घट्दै जाने रक्कीको रिपोर्टमा उल्ल्ेख छ ।

केही वर्षदेखि विश्वमा ईभी बिक्री तिब्र गतिमा बढी रहेको छ । अहिले पनि बीवाइडी, टेस्ला, फक्सवागेन, हुन्डाई मोटर ग्रुप जस्ता कम्पनीले बजार माग अनुसार गाडी उत्पादन गरेर विश्व बजारमा पठाउन सकेका छैनन् ।

इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार सन् २०२२ मा बिक्री भएका कारहरु मध्ये १४ प्रतिशत ईभी रहेको थियो । जुन सन् २०२१ मा रहेको ९ प्रतिशत बजार हिस्साबाट एकै वर्षमा ६ प्रतिशतले बढेको हो । सन् २०२० मा ईभीको हिस्सा केवल ५ प्रतिशत मात्रै थियो ।

विश्व बजारमा विद्युतीय कार उत्पादन र बिक्री गर्ने विषयमा चीनले नेतृत्व गरिरहेको छ । प्रयोगमा भने नर्थ युरोपियन देशहरुले अग्रणी भूमिका खेलेका छन् ।

चीनमा सन् २०२२ मा २७ प्रतिशत ईभी बिक्री भएको थियो । पुरै युरोपमा २०.८ प्रतिशत, अमेरिकामा ७.२ प्रतिशत ईभीको मार्केट शेयर रहेको थियो । त्यस्तै इन्डोनेसिया, नेपाल तथा न्यूजल्याण्ड पनि फास्टेस्ट ग्रोइङ ईभी मार्केट भएको छ ।

ईभीको बजारमा बढ्दो प्रतिस्पर्धाका कारण पछिल्लो समयमा घट्दो ईभीको मूल्यका कारण तथा विभिन्न देशका सरकारले ईभीमा प्रदान गरेको इन्सेन्टिभका कारण पनि ईभीको बिक्रीमा बृद्धि भएको हो ।

पोलीसी सपोर्टका साथै ईभीको प्रमुख कम्पोनेन्ट ब्याट्रीकोे मूल्य पनि सन् २०१० को दाँजोमा ८८ प्रतिशतले गिरावट आएको छ । साथै, ब्याट्रीको इनर्जी डेन्सीटी पनि वार्षिक ६ प्रतिशतले बृद्धि भएको छ ।

ईभीको संख्या बढेसँगै इलेक्ट्रीसीटी इन्फ्रास्ट्रक्चर, चार्जिङ नेटवर्कका साथै ब्याट्री रि–साइकलमा भने अझै पनि चुनौति रहेको छ ।


Back_to_top