गाडी किन्न ९ प्रतिशत ब्याजदरमै कर्जा, यी हुन् सस्ताेमा कर्जा दिने ६ बैंक

काठमाडौं । सवारीसाधन खरिद गर्न चाहनेहरूलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा दिन थालेका छन् । केही दिनअघि मात्रै सकिएको नाडा अटो शो २०२३ मा पनि बैंकहरूले स्टल नै राखेर ग्राहकलाई सेवा दिएका थिए ।

अटो शोमा बसेका बैंकहरूले १०.५ प्रतिशत ब्याजदरबाटै कर्जा उपलब्ध गराएका थिए । तर, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १० प्रतिशतभन्दा कम ब्याजदरमा नै कर्जा दिन थालेको थियो । यसले बैंकहरू अटो कर्जा दिन तीव्र प्रतिस्पर्धा गरिरहेको देखाउँछ ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा ऋण लगानी बढाउन बैंकहरूले आधारदरमा केही प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा दिइरहेका हुन् । बैंकहरूले त्यसमाथि विद्युतीय सवारी खरिद गर्ने ग्राहकका लागि थप सहुलियत दिइरहेका छन् ।

ईभी (इलेक्ट्रीक भेहिकल) किन्न बैंकहरूले मूल्यको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिएका छन् । त्यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने कारमा व्यक्तिगततर्फ ५० प्रतिशत र संस्थागततर्फ ७० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराएका छन् । बैंकहरूले पेट्रोल गाडीको तुलनामा विद्युतीय साधन किन्नेलाई ब्याजदर सस्तो दरमा उपलब्ध गराएका छन् ।

पछिल्लो समय विद्युतीय सवारी ग्राहकको रोजाइमा पर्न थालेको छ । सोही कारण बैंकहरूले पनि यस्ता सवारीलाई खरिद गर्न प्रोत्साहन गरिरहेका छन् । हामीले यहाँ अटोमोबाइल क्षेत्रमा सबैभन्दा धेरै कर्जा दिने मध्येको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई, एनएमबी बैंकले अहिले तय गरेको ब्याजदरका विषयमा यहाँ चर्चा गरेका छौं ।

कुन बैंकको ब्याज कति ?

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८.५२ प्रतिशत रहेको छ । यसमा १.४० देखि १.७५ प्रतिशत प्रिमियम थपेर विद्युतीय सवारी कर्जा बैंकले दिइरहेको जनाएको छ । बैंकले गाडी कर्जा अन्तर्गत ३ प्रतिशत प्रिमियम थपेर ब्याजदर तय गरेको छ ।

त्यसैगरी वाणिज्य बैंकले विद्युतीय सवारी कर्जामा ७ वर्षसम्म १२.२५ र अन्य गाडी कर्जाको लागि १३.५० प्रतिशत स्थिर ब्याजदरसमेत तोकेको छ ।

नेपाल बैंकले विद्युतीय सवारीको लागि ९.५५ आधारदरमा १.५० देखि ३.५० प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंकले आधारदर ९.९१ प्रतिशत ब्याजदरमा ०.७५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर तोकेको छ ।

यस बैंकले अटो लोन अन्तर्गत ५ वर्षका लागि १०.९९ देखि ११.९९ प्रतिशत स्थिर ब्याजदर तय गरेको छ । त्योभन्दा बढी अवधिको लागि ११.९९ देखि १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनएमबी बैंकको भदौमा बेसरेट १०.०८ प्रतिशत छ । यस बैंकले आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर विद्युतीय सवारी तथा अन्य सवारी खरिदका लागि कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकले विद्युतीय सवारीको हकमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने छ भने ऋणको अवधि ७ वषको हुनेछ ।

नबिल बैंकले ५ वर्ष अवधिको लागि १०.४९ प्रतिशत र र त्योभन्दा बढीको १०.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो ऋण दिने जनाएको छ । बैंकले यो ऋण सुविधा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर समेत लिँदै आएको छ ।

लक्ष्मी सनराइज बैंकले आधादर १०.८५ मा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराइरहेको छ ।

यी बैंकका अलवा अन्य सबै बैंक तथा वित्त कम्पनीहरूले अटो कर्जा उपलब्ध गराएका छन् । त्यसमा पनि बैंकको आधारदर र ग्राहकको बार्गेनिङ गर्ने क्षमताको आधारमा ब्याजदर बैंकहरूले लगाउँदै आएका छन् ।


Back_to_top