काठमाडौं । अघिल्लो आर्थिक वर्षबाट नेपालमा ईभीको बजार हिस्सा ६० प्रतिशत पुग्यो । जुन चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा पनि निरन्तर रह्यो ।
चालु आर्थिक वर्षको साउन र भदौमा करिब ९०० विद्युतीय कारको आयात हुँदा पेट्रोल कारको आयात ६५० यूनिट मात्रै छ । यहि ट्रेन्ड आर्थिक वर्षको समाप्तसम्म चल्ने हो भने ईभीको आयात ७० प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ ।
यसरी ईभीमा ठूलो लहर आउँदा नेपालमा नाम चलेका तर ईभी बिक्रीको अनुभव बोटल्न नपाएका ब्राण्ड थुप्रै छन् । त्यसमध्ये मुख्य ७ ब्राण्डको विषयमा यहाँ जानकारी प्रस्तुत गरेका छौं ।
अहिले पनि ईभी उपलब्ध गराउन नसकेका सबै चल्तीका ब्राण्ड जापानीज र यूरोपियन छन् । यी ब्राण्डले ईभी तयारीका विषयमा हामीले यहाँ जानकारी दिएका छौं ।

१. सुजुकी : सिजी मोटोकर्पले तीन दशक अगाडिदेखि बिक्री गर्दै आएको सुजुकी ब्राण्डसँग अहिलेसम्म एउटा पनि ईभी छैन । कम्पनीले यसअघि नै आफ्नो पहिलो ईभी सन् २०२५ मा मात्रै बजारमा आउने जानकारी दिएको थियो । यस हिसावले हेर्दा अझै २ वर्ष सुजुकीसँग कुनै पनि ईभी मोडल उपलब्ध हुने छैन ।

२. टोयोटा : नेपालमा आधिकारीक बिक्री सुरु भएको ५६ वर्ष पुरानो टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिसँग अहिलेसम्म ईभी छैन । कम्पनीले अहिले हाइब्रिड मोडलसम्म ल्याएर बिक्री गर्दै आएको छ । टोयोटाले अन्तर्राष्ट्रिय बजारमा भने ईभी बिक्री सुरु गरेको छ । विश्वकै सबैभन्दा ठूलो कार निर्माताले सन् २०२४ को तेस्रो क्वाटरसम्म नेपालमा टोयोटाका ईभी उपलब्ध गराउने तयारी थालेको छ ।

३. फक्सवागेन : यूरोपकै चर्चित र विश्वकै दोस्रो ठूलो कार निर्माता ईभीमा पनि तेस्रो ठूलो बजार हिस्सा भएको उत्पादक हो । तर, पनि फक्सवागेनका विद्युतीय कार अहिलेसम्म नेपाल आउन सकेको छैन । फक्सवागेनका ईभी अझै कति समय नेपाल आउँदैन, एकिनका साथ भन्न सक्ने अवस्था छैन ।

४. स्कोडा : फक्सवागेन ग्रुप अन्तर्गतकै अर्को चेक ब्राण्ड स्कोडाले पनि अन्तर्राष्ट्रिय बजारमा इन्याक ईभी बिक्री थालेको छ । तर, कम्पनीले अहिलेसम्म नेपालको लागि ईभी दिएको छैन । एमएडब्लू एक्सपान्जेले नेपालमा स्कोडाका सवारीसाधन बिक्री गर्दै आएको छ । स्कोडाको ईभीको लागि पनि कम्तीमा अर्को १ वर्ष कुर्नु पर्ने देखिन्छ ।

५. रेनो : फ्रेन्च कार निर्माता रेनोले ईभी उत्पादन र बिक्रीमा निकै राम्रो गरिरहेको छ । विशेषगरी भारतमा उत्पादन भएका रेनोका उत्पादन नेपाल आउने गरेका छन् । रेनोले भारतमा ईभीको योजना अहिलेसम्म सार्वजनिक नगर्दा नेपालमा कहिले रेनोका ईभी आउँछन्, एकिन गर्न सकिने अवस्था छैन । रेनाका कार एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ ।

६. जीप : अमेरिकी ब्राण्डसँग जीपको एभेन्जर मोडल इलेक्ट्रीकमा उपलब्ध छ । तर, नेपाली बजारमा तत्काल एभेन्जर आउने छैन । अहिले पनि जीपका अफरोड एसयूभी मात्रै बिक्री गरेर एमएडब्लू लाइफ बसिरहेको छ । जीपको पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर सम्भवत सन् २०२५ ताका मात्रै नेपाल आउने छ ।

७. मित्शुवीसी : मित्शुवीसी अर्को जापानी ब्राण्ड हो, जोसँग तत्काल ईभी छैन । नेपालमा पजेरो बेच्ने ब्राण्डको रुपमा परिचित लियोन मोटर्सले कहिलेसम्म मित्शुवीसीका ईभी ल्याउन सक्छ कुनै टुङ्गो छैन ।

