काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीन वटा सडकखण्ड आजदेखि एकतर्फी बनाइएको छ ।
सडक साँघुरो भएको हुनाले जाम व्यवस्थापन गर्न एकतर्फी नियम लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार अब जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन ।
त्यस्तै, पुतलीसडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएको हो ।
त्यसैगरी, काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग (राहदानी विभाग नजिकै विश्वनिकेतन स्कुल) हुँदै त्रिपुरेश्वर मूल सडकमा आउन पाउने छैनन् । गुर्सिङ्गगलबाट त्रिपुरेश्वरको मूल सडकमा आउने सवारी अब नयाँ पुल हुँदै टेकु नजिँकै रहेको यामाहा सोरुममा निस्कनु पर्नेछ ।
सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडकमा ट्राफिक प्रहरी र महानगरपालिकाको टोली खटाइएको छ ।

