सस्तो भयो ओलाका स्कुटर, आउला नेपाल ?

काठमाडौं । भारतीय स्टार्टअप कम्पनी ओलाका स्कुटरको मूल्य निरन्तर घट्दै गएको छ । कम्पनीले पुनः एक पटक २० हजार भारतीय रुपैयाँले स्कुटरको मूल्य घटाएको हो ।

भारत सरकारले दिदै आएको अनुदान रकम कटौतीसँगै कम्पनीले स्कुटरको मूल्य घटाएको हो । करिब १६ महिना अघि नै नेपालमा देखाएर पनि ओलाका स्कुटर अझै बिक्री सुरु भएका छैनन् ।

ओलाले मूल्य कटौती गर्ने योजना अनुसार आफ्नो एस १ एक्स प्लस स्कुटरमा केही फिचर हटाएको हो । कम्पनीले टीएफटी डिस्प्ले हटाएर एलसीडी डिस्प्ले लगाएको छ ।

कम्पनीले डिसेम्बर २०२३ मा बुकिङ गर्ने ग्राहकलाई एस १ एक्स प्लस मोडल ८९ हजार ९९९ भारतीय रुपैयाँमा दिनेगरी बुकिङ लिएको हो ।

नयाँ स्कुटरमा ३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीले यसमा १५१ किलोमिटर रेन्ज आइडीसीले प्रमाणित गरेको छ । तर, यसको बास्तविक रेन्ज भनेर कम्पनीले नर्मल मोडमा १०० किलोमिटर र इको मोडमा १२५ किलोमिटर दावी गरेको छ ।

ओलाले यसमा ६ किलोवाट पीकपावर क्षमताको मोटर दिएको छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

सिजीले भृकुटीमण्डपमा सन् २०२२ ईभी अटो एक्स्पोमा पहिलो पटक ओलाका स्कुटर प्रदर्शनी गरेको थियो । तर, पछि कम्पनीले यी उत्पादन बिक्रीको लागि भने ल्याएन । अहिले धेरै व्यवसायीक फर्महरु ओलाका उत्पादन नेपाल ल्याउन लागि परेका छन् ।


Back_to_top