हुन्डाईको नेपाल योजना: आउँदै दुई एसयूभी

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई नयाँ मोडल बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले बजारमा ल्याउने दुई नयाँ एसयूभीमा एउटा पेट्रोल र अर्को इलेक्ट्रीक मोडल हुनेछ ।

हुन्डाईले भारतमा उत्पादन गरेको एक्सटर माइक्रो एसयूभी र कोरियामा उत्पादन भएको नयाँ जेनेरेसन कोना इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने तयारी गरेको हो ।

यी दुबै एसयूभीकाे मूल्य ३५ लाखदेखि ७५ लाख रुपैयाँ भित्रै रहनेगरी नेपाल आउने कम्पनी स्रोतले बतायो । कम्पनीले एक्सटर माइक्रो एसयूभी गत नाडा अटो शो २०२३ मा पनि प्रदर्शनी गरेको थियो ।

‘ग्राहकले राम्रै संख्यामा सोधखोज गर्नु भएको छ । त्यहि अनुसार माघको अन्तिमसम्ममा एक्सटर एसयूभी बजारमा ल्याउने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको हुन्डाईको नयाँ जेनेरेशन कोना अहिले चर्चामा रहेको मोडल हो । नयाँ कोनामा आयोनीक-५ बाट प्रेरित इन्टेरियर पाउन सकिन्छ ।

पहिलेकोभन्दा ठूलो ब्याट्री, धेरै रेन्ज र साइजमा पनि ठूलो भएर आएको कोना इलेक्ट्रीक पनि यहि वर्ष नेपाल आउने छ ।

यस्तो छ एक्सटर

हुन्डाईले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित नेपाल ल्याउने छ । बढ्दो एसयूभी क्रेजलाई सम्बोधन गर्न उत्पादन गरेको एक्सटरमा स्पोर्टी ब्ल्याक रुफरेल र डायनामिक ब्ल्याक रियर स्पोइलर दिइएको छ । त्यहि कारण यो निकै स्पोर्टी छ ।

‘इन्डियन कार अफ दी इयर २०२४’ अवार्ड जित्न सफल एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

एक्सटरलाई क्रुज कन्ट्रोल, स्टायण्डर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ ।

नयाँ जेनेरेशन कोना

हुन्डाईको नयाँ जेनेरेशन कोना इलेक्ट्रीकको डिजाइनसँगै अन्य फिचरमा परिवर्तन भएको छ । कम्पनीले यसअघि रहेको ३९.२ किलोवाटको ब्याट्रीलाई परिवर्तन गरेर ४८.६ किलोवाट आवरको ठूलो ब्याट्री दिएको हो ।

नयाँ कोना अमेरिकी बजारमा बिक्री सुरु भएकोछ । यसको मूल्य झण्डै ३४ हजार अमेरिकी डलर तोकिएको छ । योसँगै यसको मूल्य महंगो भएको विषय मिडियामा आएको थियो । तर, नेपाल कुन मूल्यमा आउँछ अहिल्यै उकिन भएको छैन ।

अहिले नेपाली बजारमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याकमा कोना उपलब्ध रहेको छ । यसको मूल्य ६० लाखदेखि ६५ लाख रुपैयाँसम्म रहेको छ । अब आउने कोनामा झण्डै ९.४ किलोवाट आवर ब्याट्री थप भएर आउने भएको कारण मूल्य पनि थप महंगो हुन सक्ने देखिन्छ ।

हुन्डाईले नयाँ कोनामा ९९ किलोवाट र १५० किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध गराएको छ । नेपाल आउने कोनामा ९९ किलोवाटको मोटर रहने पक्का जस्तै छ । त्यसैगरी १५० किलोवाटको मोटरसँग भने ब्याट्री पनि ६४ किलोवाट आवरको ब्याट्री रहने छ ।

कम्पनीले यसमा पहिला लाग्दै आएको ७.२ किलोवाटको चार्जर सपोर्ट गर्ने क्षमतालाई बढाएर १०.८ किलोवाटको अन वोर्ड एसी चार्जर सपोर्ट गर्न सक्ने बनाएको छ । फास्ट चार्जर क्षमता पनि बढाएर १० देखि ८० प्रतिशत ४३ मिनेटमा पुरा हुने बनाएको हो ।


Back_to_top