नेपालमा चर्चा पाए पनि सडकमा नपुगेका ५ कार

काठमाडौं । नेपाली बजारमा आउने घोषणा भएका, आएका र बिक्री सुरु भएपनि सफलता पाउन नसकेका धेरै मोडल छन् । चर्चा पाएर पनि सडकमा गुड्न नपाएका कारले २०२३ मा धेरैलाई निरास बनायो ।

नाडा अटो शो २०२३ आयोजना भएसँगै निजी सवारीसाधनको बिक्रीमा निकै ठूलो चहल पहल आउने अपेक्षा गरिएको थियो । तर, अटो शोपछि ईभीमा राम्रै चहल पहल आएपनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा चासो धेरै देखिएन ।

सन् २०२३ मा नेपाल आएका र आउने घोषणाले मात्रै पनि निकै ठूलो चर्चा पाएको थियो । तर, केही मोडल अझै बजारमा आउन सकेका छैनन् । आएका केही मोडलले पनि बिक्रीमा खासै सफलता पाउन सकेनन् ।

स्काई वेल ‘इटी-५’

निकै चासो राखेर मानिसले सोधखोज गरेको इलेक्ट्रीक कार ब्राण्ड स्काई वेलको ‘इटी–५’ नेपाल आउन सकेको छैन । जि मोटर्सले नेपाल ल्याउने घोषणासँगै नाडा अटो शो २०२३ मा यसको बुकिङ पनि खुल्ला भएको थियो ।

स्काइवेल इटी-५

प्रिमियम सेग्मेन्टमा आउने बताइएको इटी-५ अझै नेपाल आएको छैन । कम्पनीले सुरुमा राइट ह्याण्ड ड्राइभ अप्सनमा उपलब्ध छैन भनेको इटी-५ सेप्टेम्बरमै राइड ह्याण्ड ड्राइभ मोडल उपलब्ध गराएको चिनियाँ संचार माध्ययमले उल्लेख गरेका थिए ।

स्काई वेलले टर्की, इजरायल, यूएई, जर्मनी, उत्तर अमेरिकी लगायतका विश्वका ४३ देशमा निर्यात गरेको खबर आएपनि यो मोडल नेपाल आउन सकेको छैन ।

हुन्डाई एक्सटर

हुन्डाईले गत नाडा अटो शो २०२३ मा एक दिन मात्रै प्रदर्शनी गरेको एक्सटर पनि खुब चर्चा पाउन सफल मोडल हो । माइक्रो एसयूभी सेग्मेन्टमा आएको एक्सटर नेपालमा अझै बिक्री सुरु भएको छैन । कम्पनीले फेब्रुअरी २०२४ बाट यसको बिक्री सुरु गर्न लागेको हो ।

केही दिन अघि मात्रै ‘इन्डियन कार अफ दी इयर २०२४’ जित्न सफल एक्सटरलाई आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ३५ देखि ४२ लाख हाराहारी मूल्य राखेर यसलाई बजारमा ल्याउने छ ।

टाटा पन्च

टाटा मोटर्सको माइक्रो एसयूभी पन्च पनि नाडा अटो शो २०२३ बाटै नेपालमा प्रबेश गरेको हो । दुई वर्षअघि नै भारतमा उपलब्ध पन्च नेपाल आएपछि धेरै चर्चा पाउन सकेन ।

इलेक्ट्रीक कारको चर्चा र बिक्री दुबै बढेको समयमा बजारमा आएको पन्चले धेरैलाई आकर्षित गर्न सकेको छैन । सायद, चाँडै पन्च ईभी आउने भएको कारणले पनि यसको बिक्री कम भएको हुन सक्छ ।

टाटा पन्च प्योर, एडभेन्चर, एकम्प्लीस, क्रियटीभ गरी ४ भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ३३ लाख ९९ हजारदेखि ४३ लाख ३९ हजारसम्म तोकेर बिक्री हुँदै आएको छ ।

एमजी एस्टर

पारामाउन्ट मोटर्सले नेपालमा बिक्री गर्दै आएको एमजीका इलेक्ट्रीक उत्पादन निकै चर्चित छन् । तर, कम्पनीले पछिल्लो समय ल्याएको कम्प्याक्ट एसयूभी एस्टरले खासै ग्राहक तान्न सकेको छैन ।

आफ्नो सेग्मेन्टमा नै सर्वाधिक धेरै टेक फिचर भएको एस्टर मूल्यको हिसावले पनि राम्रो थियो । तर, पनि यसले पाएको चर्चा अनुसार बिक्री पाउन सकेन । एमजीको चर्चित जेडएस इभीकै वेसमा बनेको एस्टर नेपालमा एउटा मात्रै भेरियन्टमा उपलब्ध छ ।

एमजी एक्सटरमा १.५ लिटर क्षमताको ४ सिलिण्डर पेट्रोल इन्जिन छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स पाउन सकिन्छ । यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

रेसेन्स ईभी

विद्युतीय गाडीको क्रेजमा पनि आफु बलियो बन्न नसकेको रेसेन्स पूर्ण रुपमा असफल मोडल हो । जीमीनी इनकर्पोरेटले नेपाल ल्याएको ईभी छतमा शोलार प्यानल र २३० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स भनेर चर्चामा ल्याइएको थियो ।

बजारमा मिनी ईभीहरु १४ लाखदेखि नै उपलब्ध भएको कारण रेसेन्सको २४ लाख मूल्यलाई ग्राहकले पत्याएनन् । अझ यस्तै किसिमको डेरी र दाय ब्राण्ड गाडीबाट तर्सेका ग्राहकले यसमा ध्यान नै दिएनन् ।


Back_to_top