इलेक्ट्रीक स्कुटर किन्दा ब्याट्री कस्तो छान्ने ? यी हुन् फाइदा र बेफाइदा

झिकेर चार्ज गर्न मिल्ने ब्याट्री

काठमाडौं । विश्व बजारमा विद्युतीय साधनको प्रयोग बढ्दै गएको छ । ईभी उत्पादकहरु आफ्ना उत्पादनहरु राम्रा भनेर थाक्दैनन् । ग्राहकहरुमा पनि राम्रो छानेर किन्न प्रयासरत हुन्छन् ।

इलेक्ट्रीक स्कुटर किन्दा ग्राहकले कस्तो ब्याट्री भएको किन्ने भनेर सजिलै निर्णय लिन सक्दैनन् । ईभी निर्माताहरुले आफुसँग भएको प्रोडक्टलाई उत्कृष्ट दावी गर्छन् । यस्तोमा आज हामीले विद्युतीय स्कुटरमा हुने रिमुभएवल (झिकेर चार्ज गर्न सकिने) र झिक्न नमिल्ले ब्याट्रीका फाइदा र बेफाइदा केलाउने प्रयास गरेका छौं ।

फिक्स ब्याट्री

फिक्स ब्याट्री अधिकांस स्कुटरमा हुने फिचर हो । धेरै जसो कम्पनीले फिक्स ब्याट्री प्रयोग गर्छन् । यो ब्याट्री पूर्णरुपमा नै स्कुटरमा जडित हुन्छ । यसलाई सहजै निकाल्न सकिदैन । त्यसैले यसलाई हिडन ब्याट्री भन्ने चलन छ ।

यस्तो ब्याट्री धेरै टिकाउ हुने विज्ञहरुको भनाइ छ । फिक्स ब्याट्रीका फाइदाहरु बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।

तौल सन्तुलन: फिक्स ब्याट्री भएका स्कुटहरु एरोडाइनामिक हुन्छन् । यसले समग्र स्कुटरको तौल वितरणमा सुधार गरेर स्कुटरलाई सन्तुलिन राख्न मद्दत गर्छ ।

फिक्स ब्याट्री

राम्रो प्रदर्शन: फिक्स ब्याट्रीहरु निकाल्ने र राख्ने झण्झट गर्नु पर्दैन । ब्याट्री निकाल्न नपर्ने कारण ब्याट्री र मोटरको कनेक्सन स्थिर हुन्छ । भारतको राष्ट्रिय नविकरणीय ऊर्जा अनुसन्धान आयोगले गरेको एक अध्ययनले फिक्स ब्याट्री भएका स्कुटरको पर्फमेन्स राम्रो हुने देखाएको थियो ।

क्षति प्रतिरोध क्षमताः फिक्स ब्याट्री भएको स्कुटरहरु चिसो तथा तातो वातावरण तथा दुर्घटना आदिबाट हुने जोखिम कम गर्न सक्षम हुन्छन् ।

चोरी हुने सम्भावना कम: यस्ता ब्याट्रीहरु स्कुटरमा मजबुत रुपमा जडान गरिने भएका कारण चोरी हुने सम्भावना न्यून हुन्छ ।

फिक्स ब्याट्रीका केही वेफाइदा

फिक्स ब्याट्रीका केही बेफाइदा छन् । यसको पहिलो बेफाइदा मूल्य हो । रिमुभ एवल ब्याट्रीभन्दा फिक्स ब्याट्री भएका स्कुटहरु महंगो पर्ने देखिन्छ ।

दोस्रो ब्याट्री निकाल्न नसकिने हुँदा यात्राको क्रममा चार्ज गर्न स्टेशन खोज्नु पर्ने हुन्छ । तेस्रो रिमुभ गर्न नमिल्ने भएका कारण ब्याट्री चार्जका लागि समय छुट्याउनु पर्ने हुन्छ ।

रिमुभ एवल

रिमुभ एवल (निकाल्न सकिने) ब्याट्री सहजै निकाल्न सकिन्छ । यस्तो ब्याट्रीका पनि फाइदा तथा वेफाइदा दुबै हुन्छन् ।

कोठा भित्रै चार्ज गर्न सकिने: यस्तो ब्याट्री झिकेर सजिलै चार्ज गर्न सकिन्छ । स्कुटर चार्ज गर्न स्टेशन खोज्नु पर्दैन । ग्राहकले स्पेयर ब्याट्रीसमेत बोक्न सक्छन् ।

लामो यात्राः माथि भने जस्तै चालकले स्पेयर ब्याट्री लिएर लामो यात्रा गर्न सक्नेछन् ।

सजलै मर्मत: यी ब्याट्रीहरु चालकले आफै निरिक्षण गर्न सक्छन् र क्षति पुग्न लागेको थाहा पाएर सजिलै सुरक्षा गर्न सकिन्छ ।

समय बचतः यस्तो ब्याट्रीले चार्जिङ समयको बचत गर्छ ।

वेफाइदा

स्पेशः यस्ता स्कुटरमा स्पेश कम हुन्छ । अन्डर सिट ठाँउ हुँदैन ।

डिजाइनः रिमुभएवल ब्याट्री भएको स्कुटरको डिजाइन कम एरोडाइनामिक हुने विज्ञहरुको भनाइ छ ।

चोरीको सम्भावना: सहजै झिक्ने मिल्ने भएको कारण चार्ज गर्दाको समयमा ब्याट्री चोरी हुने सम्भावना रहन्छ ।

कुन छान्ने ?

यदि तपाई दैनिक प्रयोगका लागि किन्दै हुनुहुन्छ र छोटो यात्रा गर्नु छ भने फिक्स ब्याट्री भएको स्कुटर तपाईको लागि उपयुक्त हुन्छ ।

होइन, तपाई दैनिक ५० किलोमिटरभन्दा धेरै यात्रा गर्नु छ भने स्पेयर ब्याट्री प्रयोग गर्न सकिने रिमुभ एवल ब्याट्री भएको स्कुटर खरिद गर्न सक्नु हुन्छ ।


Back_to_top