तीन भेरियन्टमा नेपाल आउँदै बीवाइडीको नयाँ कार

काठमाडौं । बीवाइडीले आफ्नो प्रिमियम कार सिल नेपाल ल्याउने भएको छ । कम्पनीले सिल सेडानको विभिन्न तीन भेरियन्ट नेपाल ल्याउन लागेको हो ।

आधिकारीक बिक्रेता साइमेक्स इंकले जनवरी २०२४ बाट नेपालमा बिक्री सुरु गर्न लागेको बीवाइडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्टमा नेपाल आउन लागेको हो । यी सबै भेरियन्टमा राम्रै अन्तर पाउन सकिन्छ ।

नाडा अटो शो २०२३ मा ल्याएर साइमेक्स इंकले प्रदर्शनी गरेको सिल मोडल निकै आकर्षक र प्रिमियम सेडान कार हो । निकै लामो र फराकिलो बनोटको कारण यसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

डाइनामिक भेरियन्ट

यो सिलको सबैभन्दा सस्तो भेरियन्ट हुनेछ । ६१.४४ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक रहेको डाइनामिक भेरियन्टमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ४६० किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यस पावर पनि राम्रो छ । गाडीले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ७.५ सेकेन्ड मात्रै लगाउने छ ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५.६ इन्चको रोटेड टचस्कृन जस्ता फिचर पाउन सकिन्छ । यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ ।

प्रिमियम भेरियन्ट

सिलको प्रिमियम भेरियन्टमा भने ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।

कम्पनीले यसमा डाइनामिक भेरियन्टकोभन्दा १ इन्च ठूलो ह्वील दिएको छ । यसमा रहेको १९ इन्चको अलोय ह्वीलले यसको प्रिमियमनेसलाई थप बलियो बनाएको छ ।

डाइनामिक भेरियन्टभन्दा केहि बढी कर्म वेट भएको प्रिमियम भेरियन्ट पनि रियर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । यसमा पनि समान १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ ।

पर्फमेन्स भेरियन्ट

नामले नै सिलको पर्फमेन्नस भेरियन्ट पावरफुल हुने संकेत गर्छ । कम्पनीले यो भेरियन्टलाई अल ह्वील ड्राइभ सिस्टम दिएर ल्याएको छ ।

३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको सिल नेपालमा उपलब्ध सबैभन्दा पावरफुल इलेक्ट्रीक कार बन्ने देखिन्छ । यसले केबल ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ ।

अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

मूल्य

सिल मोटर पावरको आधारमा तीन फरक करका दर लाग्ने मोडल हो । यसको पर्फमेन्स मोडल आयात गर्दा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्छ । त्यसैले तुलनात्मक रुपमा यो भेरियन्ट निकै महंगो पर्न जान्छ ।

त्यसपछि प्रिमियम भेरियन्टमा पनि २३० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसमा भन्सार ४५ प्रतिशत र अन्तःशुल्क ४० प्रतिशत लाग्छ ।

सिलको डाइनामिक भेरियन्ट भने कम्पनीले १ करोड हाराहारी मूल्य राखेर बिक्री गर्ने सम्भावना देखिन्छ । नाडा अटो शोमा प्रदर्शनी भएको सिलले कस्तो ब्यापार गर्छ त्यो भने थाहापाउन केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top