काठमाडौं । पहिले पानारोमिक सनरुफ ठूला एसयूभीहरुमा मात्रै प्रयोग हुने गर्थ्यो । आजकल सबकम्प्याक्ट एसयूभीदेखि साना ह्याचव्याक कारमा समेत सनरुफहरु प्रयोग हुन थालेका छन् ।
विशेषत युरोपियन देशहरुमा घाम कम लाग्ने भएकाले गाडीको क्याविन न्यानो बनाउनका पानारोमिक सनरुफको विकास गरिएको थियो । गाडीमै बसेर घाम ताप्नका लागि गाडीको सिलिङमा झ्याल बनाइएको हो ।
बाहिरी वातावरण सफा छ भने यस्ता रुफहरु खोलेर बाहिरको हावा क्याविनमा छिराउँदा फ्रेस फिल हुन्छ । कतिपय साना केटाकेटीहरुलाई त यस्ता रुफबाट टाउको बाहिर निकालेर हिड्ने पनि रहर हुन्छ ।
हाम्रो जस्तो धेरै चिसो नहुने र बाटोमा सधै धुलो भइरहने ठाँउका लागि सनरुफ उपयुक्त छैनन् । झन् अहिलेको मौसममा त गाडीको झ्याल समेत खोलेर हिड्न सकिदैन भने सनरुफ खोलेर हिड्ने त कल्पना पनि गर्न सकिदैन ।
आजकलका गाडीहरुमा ठूला साइजका पानारोमिक सनरुफ हुने र त्यसको पर्दा समेत निकै पातलो हुने भएकाले गाडीको क्याविन तातेर एसी बीना बस्नै नसकिने अवस्था हुन्छ । अहिले औषतका गाडीमा प्रयोग भएका ईभीहरु धेरै तात्ने गरेको प्रयोगकर्ताहरुको अनुभव पाइन्छ ।
साथै, सामान्य कार्य र रमाइलोका लागि प्रयोग हुने यस्ता सनरुफहरु कतिको सुरक्षीत छन् भन्ने प्रश्नहरु बेलाबेलामा उब्जिरहेका हुन्छ । गाडीको छतमा शिशाबाट बनेका यस्ता सनरुफ मेटलको दाँजोमा पक्कै पनि कमजोर हुन्छन् ।
यस्ता सनरुफ माथिबाट ढुङगा वा कुनै गरुङ्गो बस्तु झरेमा वा दुर्घटनाको समयमा यस्ता सनरुफ फुट्न सक्छन् । जसका कारण गाडीको क्याविनमा बसेका यात्रुहरुलाई झन् चोट लाग्ने सम्भावना हुन्छ ।
दुर्घटनाको समयमा सिटबेल्ट नबाधिकन गाडीको क्याविनमा बसेका यात्रुहरु धेरै पटक बाहिर उछिट्टिएर मृत्यु भएका घटनाहरु हामीले सुनेका छौं । अर्को खर्चका हिसावले पनि सनरुफ खर्चिलो नै हुन्छ । सनरुफको चारैतर्फ रबरले सिल गरेको हुन्छ । गाडी पूरानो हुँदै गएपछि यस्ता रबर लिक भएर क्यावीनमा पानी समेत छिरेका घटनाहरु सुनिन्छ । यसको मेन्टिनेन्समा पनि मोटै रकम खर्च गर्नु पर्ने हुन्छ ।