अस्तव्यस्त र ध्वस्त नागढुङ्गा-मुग्लिन सडक (भिडियोमा)

काठमाडौं । सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नागढुङ्गा-मुग्लिन सडकको अवस्था दयनीय बनेको छ । विस्तारको क्रममा रहेको यस सडकखण्ड अस्तव्यस्त र ‘ध्वस्त’ रहेको छ ।

यस सडक हुँदै यात्रा गर्न निकै कष्टकर छ । जताततै खाल्डाखुल्डी रहेको यो सडक पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुन्छ । साथै, कुन ठाउँमा कति घण्टा जाममा फस्नुपर्ने हो अनुमान लगाउन कठिन छ ।

दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने सडक योजनाबद्ध विस्तार नहुँदा चालक र लाखौं यात्रुले हैरानी खेप्नु परिरहेको छ । अझै कहिलेसम्म कष्टकर यात्रा गर्न बाध्य हुनुपर्ने हो, त्यसको ठेगान छैन ।

देशको झण्डै दुईतिहाई बढी जिल्लाका मानिस आवतजावत गर्ने मुख्य सडक हो यो । जहाँ दैनिक २० हजार सवारीसाधन आवताजावत गर्छन् । तर, यस सडकको अवस्था भने वषौंदेखि फेरिन सकेको छैन । यो सडकमार्ग नभएर सास्तीमार्गमा परिवर्तन भएको छ ।

सरकारले नागढुङ्गा-मुग्लिन सडकलाई ३ खण्डमा विभाजन गरी विस्तारको ठेक्का लगाएको छ । जसमा पहिलो खण्डमा (नागढुङ्गा-नौबिसे) १२.६२ किलोमिटर, दोस्रोखण्ड (नौबिसे-मलेखु) ४३.५२ किलोमिटर र तेस्रोखण्ड (मलेखु-मुग्लिन) ४० किलोमिटर लामो छ ।

तीनखण्ड मध्ये पहिलो खण्डको भौतिक प्रगति धेरै छ । यस क्षेत्रमा रिटेनिङ वाल लगाउने, भित्ता काट्ने, नाला बनाउने लगायत काम अन्तिम चरणमा पुगेको छ भने केही स्थानमा सबबेस समेत राखिएको छ । चाँडै कालोपत्र गर्ने तयारी भइरहको निर्माण कम्पनीले जनाएको छ ।

त्यस्तै, नौबिसे मलेखु खण्डमा भित्ता कटान, वाल लगाउने लगायत काम भइरहेको छ । मलेखु–मुग्लिन खण्डको काम भने सुस्त छ । यस खण्डको केही क्षेत्रमा मात्रै विस्तारको काम सुरु भएको छ ।

दोस्रोखण्डको बैरेनी क्षेत्रमा तुलनात्मक रुपमा धेरै काम भएको छ । यद्यपि, स्थानीय बासिन्दाले भने धेरै समस्या भोग्नुपरेको छ । बैरेनीकी स्थानीयवासी भगवती श्रेष्ठ सडक विस्तारका कारण रातिमा सुत्न समेत समस्या भएको बताउँछिन् ।

‘हामीले धुलो खान थालेको २/३ वर्ष भइसक्यो । अझै काम सकिएको छैन । सडकमा ल्याएर एक/दुई ट्यांकर पानी हाल्छन् । त्यो एकैछिनमा सुकिहाल्छ । त्यसपछि फेरि सडक धुलाम्मे हुन्छ । जसकारण घरमा बस्नै समस्या भएको छ,’ उनले भनिन् ।

सडक क्षेत्रमा रहेका अधिकांश बजारका व्यापारीको पीडा पनि उस्तै छ । पसलमा ढोका लगाएर बस्नुपर्ने बाध्यको कारण ग्राहक आउने अवस्था नरहेको उनीहरू बताउँछन् ।

अहिले गल्छीबजारदेखि करिब ३ किलोमिटरसम्म अवस्था निकै दयनीय छ । धुलो र पानी पर्दा हिलोका कारण निकै दुःख भोग्नु परिरहेको स्थानीय मनोज अधिकारी बताउँछन् ।

विस्तारका क्रममा रहेकाले अधिकांश क्षेत्रका स्थानीयले धूलो र हिलोको साममा गर्नुपरिरहेको छ । यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको छ । द्रुत गतिमा सडक निर्माण नहुँदा सवारी दुर्घटनाको जोखिम समेत बढाएको चालकहरू बताउँछन् ।


Back_to_top