काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आगामी नेतृत्वका लागि चुनाव लड्ने घोषणा गरेका नवराज डल्लाकोटीले आफ्नो अडानबाट ब्याक भएका छन् ।
केही दिन अघि करण चौधरीलाई नाडाको भावी अध्यक्ष बनाउने सहमती भएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै उमेदवारी दिने घोषणा गरेका डल्लाकोटीले एकाएका चुनाव नलड्ने घोषणा गरेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन हुने सहमती भइसकेको अवस्थामा नाडाका पूर्व उपाध्यक्ष समेत भइसहेका उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि निर्वाचन गर्नुपर्ने अवस्था सृजना भएको थियो । त्यसपछि उनलाई मनाउन विभिन्न व्यक्तिले कुराकानी गरिरहेका थिए ।
चुनाव नलड्ने भएसँगै डल्लाकोटीले सीजी होल्डिङका करण चौधरीलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अब नाडाको नयाँ अध्यक्ष करण चौधरी बन्ने छन् । उनी सीजी मोटर्सका कार्यकारी निर्देशक हुन् । यसअघि भएको सहमती अनुसार जीओ फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष बन्ने छन् । उनी अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्नेगरी सहमति जुटेको थियो ।
अब नयाँ कार्यसमिति पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।


