काठमाडौं । एकपछि अर्को नयाँ इलेक्ट्रीक कार नेपाल आउने क्रममा चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको प्रिमियम क्रसओभर ‘एस-७’ नेपाल आइपुगेको छ ।
चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपाल ल्याएको एस-७ निकै प्रिमियम फिचर भएको क्रसओभर एसयूभी हो । राम्रो रेन्ज, आधुनिक टेक्नोलोजी र प्रिमियम फिचर लोडेड एस-७ ले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाइसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कम्पनीले ९९ किलोवाट आवरको इलेक्ट्रीक मोटरमा नै यसलाई नेपाली बजारमा उपलब्ध गराएको छ । सानो मोटरमा आएको कारण यसको मूल्य पनि ७० लाखदेखि ८० लाख भित्रै रहने छ । कम्पनीले भन्सारमा बुझाउन छपाएको खुद्रा मूल्यमा पनि ८० लाख रुपैयाँ उल्लेख भएको थियो ।
चांगन र हुवावे मिलेर बनाएको एस-७ को लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम रहेको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस दिइएको छ ।

कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २० इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । कम्पनीले ल्याएको एस-७ मा ६६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

१८० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्ने एस-७ को इनर्जी खपत पनि निकै उत्कृष्ट मानिन्छ । यसले १०० किलोमिटर यात्रा गर्न केवल १४.२ किलोवाट ब्याट्री खपत गर्ने कम्पनीको दावी छ ।



