काठमाडौं । विश्वभर डिजेल कारको व्यापार निरन्तर ओरालो लाग्दै आएको छ । विशेषगरी पेट्रोल कार, हाइब्रिड र ईभीको चर्चासँगै डिजेल कारको व्यापार ओरालो लागेको हो ।
डिजेल कारको बिक्री मुर्झाउनुमा विश्व चर्चित उत्पादक फक्सवागेनको भूमिका सबैभन्दा धेरै मानिन्छ । सेप्टेम्बर, २०१५ मा बाहिर आएको ‘डिजेलगेट’ स्क्याण्डलपछि विश्वका धेरै देशमा प्रदूषण बढाएको भन्दै फक्सवागेनले जरिवाना नै तिर्नु परेको थियो ।
डिजेल इन्जिनले उत्सर्जन गर्ने नाइट्रोजन अक्साइड र पार्टिकुलर म्याटर (पीएम) को कारण मानव स्वास्थ्यमा पर्ने असरको विषयमा संसारभर बहस भइरहेको छ । जलवायु परिवर्तनको कारण पृथ्वीको तापक्रम बढेको भन्दै विश्वले एकै स्वरमा यसको निराकरणमा लाग्ने प्रतिबद्धता गरेसँगै डिजेल कारको बिक्रीमा गिरावट आएको हो ।
युरोपियन बजारमा डिजेल कारको बिक्रीमा पछिल्लो एक दशकमा नै ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । त्यसोत चीन, जापान, भारत जस्ता देशमा समेत डिजेल कारको बिक्रीमा व्यापक गिरावट आएको देखिन्छ ।
डिजेल इन्जिन यूरो–७ मापदण्डको बनाउँदा ठूलो लगानी गर्न पर्ने भएसँगै धेरै कम्पनीले डिजेल कार उत्पादन नै बन्द गरेका हुन् । भारतमा सर्वाधिक धेरै कार बिक्री गर्ने मारुती सुजुकीले समेत पूर्ण रूपमा डिजेल कारको उत्पादन सन् २०२० बाटै बन्द गरेको थियो ।
अहिले डिजेल इन्जिनलाई अपग्रेड गर्न लाग्ने रकम उत्पादकहरूले विद्युतीय र फ्यूल सेल कारको उत्पादनमा लगाउन थालेका छन् । यसले अझै डिजेल कारको उत्पादन र बिक्रीलाई कमजोर बनाउँदै लाने देखिन्छ ।
जे होस्, धेरै अटो पण्डितहरूले फक्सवागेनको ‘डिजेलगेट’ काण्डकै कारण तीव्र गतिमा ईभी उत्पादन सुरू भएको मान्छन् ।


