काठमाडौं । बजेट कारमा असफल सावित भएको फोर्डले फेरी एक पटक कम मूल्यको विद्युतीय कार उत्पादन गर्ने योजना अगाडि सारेको छ । कम्पनीले दुई वर्ष अगाडि साना पेट्रोल कार उत्पादनमा हात झिकेको थियो ।
कम्पनीका अनुसार कम मूल्यका ईभी बनाउन मिल्ने प्लेटफर्म विकासमा काम भइरहेको छ । त्यसको परिणाम चाँडै बाहिर आउने फोर्डका सीईओले जनाएका छन् ।
‘हामीले सानो टीम नै बनाएर कम बजेटका ईभी उत्पादनमा काम गरिरहेका छौं । विगत दुई वर्षदेखिको हाम्रो निकै क्षमतावान टीमले नयाँ प्लेटफर्म विकासमा काम गरिरहेको छ । नयाँ प्लेटफर्म निकै फेक्जीवल हुने र त्यसमा धेरै प्रकारका विद्युतीय कार उत्पादन गर्न मिल्ने छ’ फोर्डका सीईओ जेम फार्लेले भने ।
फोर्डले अहिले उत्पादन गरिरहेका विद्युतीय कारहरु ४३ हजार डलरदेखि ५५ हजार डलरसम्मका छन् । यस्तोमा कम्पनीले ३० हजार डलरभन्दा कम मूल्यका विद्युतीय कार उत्पादन गर्न नयाँ प्लेटफर्म बनाइरहेको बुझ्न सकिन्छ ।


