काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी यामाहाले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘द कल अफ द ब्लू’ ब्राण्ड क्याम्पियन सार्वजनिक गरेको अवसरमा ‘एफजेड-एक्स’मा नयाँ भेरियन्ट थप गरेको हो ।
आफ्नो मोटरसाइकल लाइन-अपलाई अझै बलियो र फ्रेश प्रोडक्ट रेन्ज बनाईराख्न नयाँ ‘क्रोम’ भेरियन्ट बजारमा ल्याएको जनाएको छ । यसले युवा ग्राहकको मन जित्ने कम्पनीले दावी गरेको छ ।
क्रोम फिनिसिङ्गमा एफजेड-एक्स निकै शानदार देखिएको छ । यो भेरियन्ट एफजेड एक्सको मजबुत प्रदर्शन र एड्भान्स टेक्नोलोजीमा आधारित छ । क्रोम भेरियन्ले ग्राहकको स्टाइल र प्रदर्शन दुबैमा ग्यारेन्टी दिने अनुमान गरिएको छ ।
भारतीय बजारमा नयाँ एफजेड एक्स क्रोम भेरियन्टको मूल्य १ लाख ३९ हजार ७०० रुपैयाँ (एक्स शोरुम) निर्धारण भएको हो ।
कम्पनीले यस मोटरसाइकलको प्रि-बुकिङ खुल्ला गरेको छ । बुकिङ खुला भएसँगै अनलाइन मार्फत बुक गर्ने पहिलो १०० जनाले क्यासीओ घडी उपहार पाउने कम्पनीको भनाइ छ ।
यस्तो छ यामाहाको एफजेड एक्स मोटरसाइकल
क्रुजर रेट्रो डिजाइनमा रहेको एफजेड एक्स मोटरसाइकलमा १४९ सीसीको सिंगल सिलिन्डर, फ्युल इन्जेक्सन, एफआई इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १२.४ ब्रेकहर्स पावर र १३.३ एनएमको पिक टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।
यस मोटरसाइकलमा पुरा एलइडी लाइट, मल्टि फङ्सन इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, वाई कनेक्ट सिस्टम, ब्लुटुथ कनेक्ट, सिंगल च्यानल एबीएस, ट्युवलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ७ स्टेपको एड्जस्टेवल मोनोसक जस्ता फिचरहरु पाउन सकिन्छ ।

