काठमाडौं । विश्व बजारमा सन् २०२३ मै ३८ लाख यूनिटभन्दा बढी हाइब्रिड कार बिक्री गरेर टोयोटाले आफ्नो लक्ष्यलाई प्रमाणित गरेको छ । कम्पनीले प्योर हाइब्रिड र प्लगइन हाइब्रिड कार बिक्री गरेको हो ।
कम्पनीको बिक्रीमा प्लगइन हाइब्रिड कारको हिस्सा १ लाख ५० हजार हाराहारी मात्रै छ । बाँकी सबै प्योर हाइब्रिड कार हुन् । कम्पनीको हाइब्रिडमा ठूलो हिस्सा हुनुको कारण माइलेज धेरै र ब्याट्री कहिल्यै परिवर्तन गर्नु नपर्ने भएकोले हो ।
टोयोटाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको र्याभफोर र कोरोला क्रस नेपालमा अहिले उपलब्ध छ भने, भोलिदेखि (शुक्रबार) यारिस क्रस हाइब्रिड बिक्री सुरू हुँदैछ । साथै, क्याम्री हाइब्रिड पनि आवश्यकता अनुसार मगाउन सकिने कम्पनीले जनाएको छ ।
टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिक्री गर्दै आएको सबै हाइब्रिड कारको मूल्य १ करोड माथि रहेको छ । कम्पनीले अहिले बेचिरहेको र्याभफोर हाइब्रिडको मूल्य १ करोड ९५ लाख रुपैयाँ छ । त्यस्तै कोरोला क्रस हाइब्रिडको मूल्य १ करोड ६५ लाख र आउँदै गरेको यारिस हाइब्रिडको मूल्य १ करोड २२ लाख हाराहारी रहने बताइन्छ ।

ग्राहकले बुकिङ गरेपछि मात्रै मगाउने गरिएको क्याम्री सेडान हाइब्रिडको मूल्य १ करोड ९० लाख हाराहारी पर्ने कम्पनीले जनाएको छ ।
माइलेजको लागि सबै मोडल अब्बल
टोयोटाले बिक्री गर्ने सबै गाडी साइजको हिसाबले ठूला छन् । ठूलो साइज र इन्जिन पनि ठूलै रहेको गाडीले दिने माइलेज उत्कृष्ट छ । कम्पनीले बिक्री सुरू गर्न लागेको यारिस क्रसमा १.५ लिटर क्षमताको इन्जिन छ । यसले प्रतिलिटर २६ किलोमिटरसम्म माइलेज दिने कम्पनीको भनाइ छ ।

त्यसैगरी, कोरोला क्रसमा १.८ लिटर क्षमताको इन्जिन छ । उक्त इन्जिनले सहरी क्षेत्रमा कम्तीमा १५ र हाइवेमा १९ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
विश्वभर सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी र्याभफोरमा २.५ लिटर क्षमताको इन्जिन छ । यसले प्रतिलिटर १५ देखि २० किलोमिटर माइलेज दिन्छ । साथै, क्याम्री सेडानमा पनि २.५ लिटरकै इन्जिन भएको कारण माइलेज समान पाइने कम्पनीले उल्लेख गरेको छ ।
बिजुली चाहिँदैन, आफैं ब्याट्री चार्ज हुन्छ
टोयोटाले विकास गरेको हाइब्रिड टेक्नोलोजी विश्वभर सफल मानिन्छ । विशेषगरी गाडीमा रहेको ब्याट्री चार्ज गर्न विद्युतीय करेन्टमा जोड्नु नपर्ने भएको कारण धेरैले झन्झटरहित भन्छन् ।

गाडी गुड्दागुड्दै ब्याट्री मोड र पेट्रोल मोड आफैं छनोट भएर चल्ने र ब्याट्री लाइफ पनि गाडीको लाइफ बारबर नै हुने भएको कारण यो टेक्नोलोजी सफल हुँदै गएको टोयोटाको दाबी छ ।
विद्युतीयमा पनि प्रयास गर्दै
टोयोटाले उत्पादन गरेको विद्युतीय एसयूभी बीजेडफोरएक्स मोडल नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनी स्रोतका अनुसार दक्षिण एशियाली बजारमै पहिलो पटक नेपालबाट टोयोटा ईभी बिक्री सुरू गर्ने सम्भावना रहेको छ ।
कम्पनीको योजना अनुसार नै विद्युतीय कार नेपाल आउने हो भने सन् २०२४ को अन्तिमबाट त्यसको बुकिङ खुला हुनसक्छ । नेपालमा ईभीको बिक्री तीव्र गतिमा बढिरहेकाले कम्पनीले पनि ईभी ल्याउन खोजेको हो ।

