एमजीले बनायो आफ्नै चार्जिङ सफ्टवेयर, ६ महिना निःशुल्क

काठमाडौं । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चार्जिङ नेटवर्कलाई व्यवस्थित गर्न आफ्नै सफ्टवेयर निर्माण गरेको छ ।

कम्पनीले ग्राहकलाई आफ्ना चार्जिङ स्टेशन र सवारीसाधनको अवस्था बारे जानकारी दिन आफ्नै सफ्टवेयर निर्माण गरेको हो ।

कम्पनीका अनुसार आगामी महिनादेखि संचालनमा ल्याउने उक्त सफ्टवेयर उपभोक्ताले ६ महिनासम्म निःशुल्क प्रयोग गर्न पाउने छन् ।

‘अहिले सुरूमा ६ महिनासम्म निःशुल्क प्रयोग गर्न दिने योजनामा छौं । त्यसपछि भने ग्राहकले वार्षिक ५०० रुपैयाँ सेवा शुल्क तिर्नु पर्छ । यसरी तिरेको सेवा शुल्क चार्जिङ स्टेशन मेन्टिनेन्स लगायत काममा खर्च गर्छौं,’ पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।

अहिले एमजीले संचालनमा ल्याएका सम्पूर्ण चार्जिङ स्टेशनहरू सबै ब्राण्डका सवारीसाधनको लागि उपलब्ध थियो । तर, नयाँ सफ्टवेयर संचालनमा आएपछि भने अन्य ब्राण्डका साधन चार्ज गर्न सकिने छैन ।

कम्पनीले ‘पारामाउन्ट चार्जिङ शोलुसन’ नाम दिएको एप अहिले नै गुगल प्ले स्टोरमा डाउनलोड गर्न सकिन्छ । चलाउन निकै सजिलो बनाइएको एपमा आफ्नो नाम र मोबाइल नम्बर राखेर एकाउन्ट बनाउन सकिन्छ ।

भित्र ड्यासबोर्ड, स्क्यान र मेन्यू तीन आइकन दिइएको छ । मेन्यू भित्र भने आफ्नो प्रोफाइल, चार्जिङ स्टेशन बुकिङ, ट्रान्ज्याक्सन, भेहिकलको डिटेल, आरएफआईडी, हेल्प एण्ड सपोर्ट, एफएक्यू, रुट प्लान र एकाउन्ट सेटिङ दिइएको छ ।

चार्जिङ स्टेशनमा विद्युत चार्जिङ शुल्क नेपाल विद्युत प्राधिकरणको तुलनमा २० प्रतिशत बढी पर्ने कम्पनीले जनाएको छ ।

अहिले धेरै व्यस्त रहेका ४ स्थानमा तत्कालै गन थप गर्ने योजना कम्पनीले अगाडि बढाएको छ । सुरूमा कुरिनटार, मूलकोट, ढल्केबगर र नारायणगढमा गन थप्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

अहिले यी ४ वटै स्थानमा ३० किलोवाटको डीसी फास्ट चार्जर छ । त्यहाँ अर्को ३० किलोवाट थप गर्ने र एकैपटक दुई वटा गाडी चार्ज गर्न मिल्ने बनाउन लागेको कम्पनीले जानकारी दियो ।


Back_to_top