काठमाडौं । चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो । वार्षिक २ करोड १५ लाख यूनिटभन्दा धेरै कार बिक्री हुने देशमा यूरोपियन र जापानी कार ब्राण्डको दबदबालाई लोकल ब्राण्डहरुले विस्तारै पछाडि धकेल्न सुरु गरेका छन् ।
सन् २०२३ को समग्र सेल्समा चिनियाँ ब्राण्ड बीवाइडीले सबैभन्दा धेरै कार बिक्री गरेको थियो । त्यसपछि यूरोपियन र जापानीज ब्राण्डले राम्रो संख्यामा कर बिक्री गरेका हुन् । अन्यथा जर्मन ब्राण्ड फक्सवागेनले चिनियाँ बजारमा लामो समयदेखि एकछत्र राज गर्दै आएको थियो ।
सन् २०२४ को पहिलो महिनामा मात्रै २० लाख ३५ हजार कार चीनमा बिक्री भयो । जुन सन् २०२३ जनवरीको तुलनामा ५७.४ प्रतिशतले बढी हो । सन् २०२४ जनवरीको बिक्रीमा बीवाइडी र फक्सवागेन बीच कडा टक्कर देखिएको छ ।
जनवरीमा फक्सवागेनले २ लाख ९ हजार ४७६ यूनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.५ प्रतिशतले बढि हो । दोस्रो स्थानमा रहेको बीवाइडीले १ लाख ९१ हजार १२२ यूनिट कार बिक्री गरेको छ ।
त्यस्तै तेस्रो स्थानमा जापानीज कम्पनी टोयोटा रहेको छ । उसले १ लाख ४१ हजार ६८९ यूनिट बिक्री गर्दा चौथो स्थानमा चिनियाँ ब्राण्ड चांगन १ लाख ३० हजार ४०८ यूनिटसहित बलियो देखिएको छ ।
चीनमा धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा पाँचौ स्थानमा होन्डा रहेको छ । उसले जनवरीमा १ लाख २९ हजार ६३८ यूनिट कार बिक्री गरेको हो ।
प्योर ईभी मार्केटमा भने बीवाइडीको वर्चश्व छ । जनवरीमा बीवाइडीले ९८ हजार ४२३ वटा प्योर ईभी बिक्री गर्दा दोस्रो स्थानको टेस्लाले ३९ हजार ८८१ यूनीट मात्रै बेचेको हो । तेस्रो स्थानमा रहेको विलिङले २७ हजार ५५७ यूनिट, चौथो स्थानमा रहेको जीएसी एवोनले २१ हजार ११५ यूनिट र पाँचौ स्थानमा रहेको चांगानले १९ हजार ४७२ यूनिट कार चीनमा बिक्री गरेका हुन् ।
सन् २०२४ को पहिलो महिनामा चीनभर ३ लाख ७६ हजार यूनिट प्योर ईभी बिक्री भएका छन् । जुन कुल कार बिक्रीको १८.४७ प्रतिशत हो ।

