काठमाडौं । भारतीय बजारमा मारुती सुजुकीले ल्याएको हरेक मोडलले बम्पर बिक्री पाइरहेको छ । तर, अघिल्लो वर्ष बजारमा ल्याएको बहुप्रतिक्षित ‘लाइफ स्टाइल’ एसयूभी जिम्नीले भने निरास बनाएको हो ।
कम्पनीले चालकको आवश्यकता अनुसार अटोमेटीक र म्यानुअल दुबै गियरबक्समा ल्याएको जिम्नीको बिक्री घटेर मासिक १६३ यूनिटमा समेटिएको हो ।
गत वर्षको अगस्टबाट बिक्रीमा आएको जिम्नीले पहिलो महिनानै ३ हजार १०४ यूनिट बिक्री पाएको थियो । त्यसपछि सेप्टेम्बरमा २ हजार ६५१ यूनीट, अक्टोवरमा १ हजार ८५२ यूनिट, नोभेम्बरमा १ हजार २० यूनिट र डिसेम्बरमा ७३० यूनिट बिक्री भएको थियो ।
बजारमा आएदेखि नै निरन्तर ओरालो लागेको जिम्नीको भारतमा बिक्री सन् २०२४ को सुरुवात त झनै खराब भयो । जनवरी २०२४ को पहिलो महिनामा १६३ यूनिट मात्रै बिक्री भएको हो । जवकी यहि सेग्मेन्टको मुख्य प्रतिस्पर्धी महिन्द्रा थार भने जनवरीमा ६ हजार ५९ यूनिट बिक्री भएको छ ।
जिम्नी एसयूभीमा १४६२ सीसीको पेट्रोल इन्जिन दिइएको छ । जापानमा ३ ढोका भएको जिम्नी उत्पादन हुने गरेको भएपनि भारतमा ५ ढोका दिइएको थियो । सन् १९७० देखि जिम्नी अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ ।
कम्पनीले मासिक ५ हजार यूनिट बिक्री गर्ने लक्ष्य राखेर बजारमा ल्याएको जिम्नीलाई उपलब्ध फिचर र पर्फमेन्सको आधारमा एकदमै महँगो रहेको भारतीय उपभोक्ताले प्रतिक्रिया दिएका थिए ।

