काठमाडौं । भियतनामको इलेक्ट्रीक ब्राण्ड भिनफास्टले भारतमा प्लान्ट निर्माण सुरु गर्ने भएको छ । फेब्रुअरी २५ तारिखबाट भारतको तामिलनाडु राज्यमा भिनफास्टले प्लान्ट निर्माण सुरु गर्न लागेको हो ।
कम्पनीले वार्षिक १ लाख ५० हजार यूनिट उच्च गुणस्तरका विद्युतीय कार उत्पादन गर्ने क्षमतामा प्लान्ट निर्माण गर्न लागेको हो । यो प्लान्ट संचालनमा आएसँगै ३ हजारदेखि ३ हजार ५०० जनाले प्रत्येक्ष रोजगारी पाउने कम्पनीले जनाएको छ ।
भारतमा उत्पादन हुने भिनफास्टका उत्पादन दक्षिण एशिया, मध्यपूर्वी एशिया र अफ्रिकामा निर्यात गर्ने कम्पनीले लक्ष्य लिएको छ । भिनफास्टले विद्युतीय कारमा भारतको ३० प्रतिशत बजार हिस्सा लिने योजना सहित प्लान्ट स्थापना गर्न लागेको हो ।
नेपालमा पनि भिनफास्टले डिलर नियुक्त गरिसकेको छ । अहिले एमजी, रेनो र माज्दा जस्ता ब्राण्ड बिक्री गर्दै आएको विशाल ग्रुप अन्तर्गत नै भिनफास्ट पनि आउने छ । भारतमा उत्पादन हुने भएपछि भिनफास्टका उत्पादन भारतबाटै नेपाल आयात हुनेछन् ।
भारतमा बन्न सुरु हुने प्लान्टबाट २०२५ को पहिलो क्वाटरमा नै उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरेर कम्पनीले काम सुरु गरेको हो ।


