जेएसीले सुरु गर्‍यो इलेक्ट्रीक ह्याचव्याकको निर्यात

काठमाडौं । चिनियाँ ब्राण्ड जेएसी मोटर्सले इलेक्ट्रीक ह्याचव्याकको निर्यात सुरु गरेको छ । कम्पनीले चीनमा उत्पादन गरेका विद्युतीय ह्याचव्याक दक्षिण अमेरिकी देशहरुमा निर्यात सुरु गरेको हो ।

नेपाली बजारमा पनि जेएसीका पीकअप ट्रकहरु उपलब्ध छन् । यी ट्रकहरुलाई गोल्छा अर्गनाइजेशन अन्तर्गतको कम्पनीले बिक्री गर्दै आएको छ । त्यहि कम्पनीले निकट भविष्यमा जेएसीका इलेक्ट्रीक ह्याचव्याक नेपाल ल्याउँछ वा ल्याउँदैन एकिन जानकारी प्राप्त भएको छैन ।

जेएसीले उत्पादन गरेको ‘यीवेई’ मोडलको ह्याचव्याक चीनमा निकै राम्रो संख्यामा बिक्री हुन थालेको छ । कम्पनीले सन् २०२४ जनवरीमा मात्रै ३९ हजार २०० यूनिट ईभी चीनमा बिक्री गरेको थियो ।

कम्पनीले पहिलो पटक नै दक्षिण अमेरिकी देशमा १० हजार ईभी निर्यात गरेको छ । जेएसी यीवेईको लम्बाई ४०२५ एमएम, चौडाई १७७० एमएम, उचाई १५६० एमएम तथा २६२० एमएमको ह्वीलवेस रहेको छ ।

दुईवटा भर्सनमा रहेको यो ह्याचव्याक कारमा ७० किलोवाटको मोटर र ४१ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

अर्को हाइपावर भेरियन्टमा भने १०० किलोवाटको इलेक्ट्रीक मोटर र ५१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसले ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाइएको छ ।


Back_to_top