काठमाडौं । चिनियाँ टेक जाइन्ट साओमीले उत्पादन गरेको पहिलो कार बुकिङ खुल्ला भएको २४ घन्टामा सोल्ड आउट भएको छ । कम्पनीले आफ्नो पहिलो कार सन् २०२४ भरलाई सोल्ड आउट भएको जनाएको हो ।
साओमीले चीनको २९ सहरमा रहेको आफ्नो ५९ स्टोरमा बुकिङ खुलाएको थियो । जहाँ ८८ हजार ८९८ यूनिट कार बुकिङ भएको जनाइएको छ । कम्पनीले ल्याएको पहिलो कार मोडल ‘एसयू-७’ हो । यसरी बुकिङ गर्दा ग्राहकले ५ हजार यूवान अर्थात् ८५० अमेरिकी डलर बुकिङ रकम तिरेका छन् ।
साओमीसँग अहिले आफ्नै प्लान्ट छैन । त्यसैले उसले सरकारी कम्पनी बेजिइङ अटोमोटीभ इन्डष्ट्री होल्डीङ कम्पनी (बीएआईसी)को प्लान्टबाट ‘एसयू-७’ उत्पादन गर्न सम्झौता गरेको छ ।
कम्पनीले नयाँ प्लान्ट पनि बेइजिङमा नै बनाइरहेको छ । कम्पनीले सुरुमा १ लाख ५० हजार यूनिट उत्पादन क्षमतामा ल्याउने जनाएको छ । त्यसपछि दोस्रो चरणमा उक्त प्लान्टको उत्पादन क्षमता ३ लाख यूनिट पुग्नेछ ।

एसयू-७ मोडल
साओमीको एसयू-७ एक सेडान कार हो । कम्पनीले यसको टप भेरियन्टमा १०१ किलोवाट आवर क्षमताको क्यूलिन ब्याट्री प्रयोग गरेको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जगर्दा ८०० किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।
टप भेरियन्ट अलह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध हुनेछ । यसको मोटर पावर ४९५ किलोवाट अर्थात् ६६३ हर्सपावर रहेको छ ।
सर्ट रेन्ज मोडलमा भने ६० किलोवाट आवरको ब्याट्री रहने छ । चीनमा यसलाई कम्पनीले २९ हजार ९०० डलरदेखि सुरु गरिएको छ ।


