काठमाडौं । एक वर्ष अगाडिसम्म कुनै पनि ब्राण्डले विद्युतीय कारमा घोषित छुट दिएका थिएनन् । बजारमा बढ्दै गएको तिब्र प्रतिस्पर्धाको कारण कम्पनीहरुले छुट घोषणा गर्न थालेका हुन् ।
अहिले विद्युतीय कार बिक्री गर्ने सबै ब्राण्डहरुले केही न केही अफर दिन थालेका छन् । यस्ता अफर विशेषगरी बीमा, वार्षिक कर, एशोसरिज, चार्जर, भिटुएल केवल, स्पेयर टायरसँगै नगदमा पनि दिन थालिएको हो ।
अहिले साना ठूला सबै किसिमका विद्युतीय कार बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई केही न केही दिन थालेका छन् । उनिहरुले ग्राहकलाई आफ्नो ब्राण्डसँगै राख्न केही अफर गर्न थालेको ब्यवसायीहरुकै कुराले पुष्टि गर्छ ।
‘आफ्नो गाडी किन्न आएका ग्राहकलाई त्यतिकै फर्काउने अवस्था छैन । हिजो सिमित ब्राण्डसँग एकाध मोडल मात्रै थियो । अहिले प्रतिस्पर्धा कडा हुँदै गएको छ । त्यसैले ग्राहक नफर्काउने रणनीति कम्पनीहरुले बनाएका हुन्’, एक ईभी बिक्रेताले मेरोअटोसँग भने ।
कुन–कुन ब्राण्डले कति दिन्छन् छुट ?
अहिलेसम्म टाटा मोटर्सले बीमा, एशोसरीज, वार्षिक कर जस्ता छुट दिएको जनाएको छ । कम्पनीले यस्तो स्कीम टियागो, टिगोर र नेक्सन ईभीमा नै दिइरहेको छ ।
बीवाइडीले अहिलेसम्म कुनै पनि स्कीम भनेर बाहिर ल्याएको छैन । तर, एमजीले भने टाटाको जस्तै बीमा, वार्षिक कर र एक्सचेन्ज बोनस भनेर केही स्कीम दिइरहेको छ ।
सिट्रोनले ई-सीथ्रीमा नगद छुट, बीमा, वार्षिक कर लगायतका अफर गरेको छ । विलिङले एयर ईभीमा १ लाख ५० हजारसम्मको छुट दिएको छ । त्यसैगरी हेनरीले ३ लाख ५० हजारसम्मको छुट दिएको छ ।
यसका अलावा बीमा र वार्षिक कर भने चांगानदेखि सेरेससम्मका ब्राण्डले उपलब्ध गराएका छन् ।
केही ब्राण्डले मूल्य घटाउँदै
बजारमा रहेका मिनी ईभी बिक्रेताहरुले मूल्य घटाउने संकेत दिएका छन् । टाटाले टियागो ईभीको मूल्य बढाएको समयमा हेनरी लगायतका केही ब्राण्डले मूल्य घटाउने भएका हुन् ।
मूल्य घट्ने भएसँगै उपभोक्ताको चासो थप ईभी प्रति बढ्ने निश्चित जस्तै देखिन्छ ।

