काठमाडौं । सन् २०२३ मा आधा दर्जन ब्राण्ड नेपाली बजारमा प्रवेश गरेका थिए । सन् २०२४ को सुरूआतदेखि नै एकपछि अर्को नयाँ ब्राण्ड नेपाल आउने चर्चा भइरहेको छ ।
आगामी भदौसम्ममा ५ नयाँ ब्राण्डले बजारमा प्रवेश पाउने देखिन्छ । त्यसरी आउन लागेका सबै ब्राण्ड चिनियाँ हुन् । विद्युतीय कारको बिक्रीमा आएको बढोत्तरीसँगै सबै बिक्रेताहरू चिनियाँ ब्राण्ड नेपाल ल्याउने दौडमा सामेल भएका हुन् ।
चीनमा कम मूल्यका बजेट कारदेखि महंगा र लग्जरी उत्पादनसम्म विद्युतीय भएको कारण गाडी बिक्री गर्न चाहनेहरूको रोजाइमा चिनियाँ उत्पादन परेका हुन् । विद्युतीय गाडीमा चिनियाँ उत्पादनलाई टक्कर दिने अन्य देशका उत्पादन नभएको कारण पनि व्यवसायीहरूको रोजाइमा चिनियाँ उत्पादन परेको हो ।
तत्काल नेपाल आउने प्रक्रियामा रहेका नयाँ ब्राण्डहरू स्मार्ट, जेको, केई, नामी र डायुन हुन् । यी सबै कम्पनीले चिनियाँ बजार बाहिर पनि आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।
नयाँ आउँदै गरेको स्मार्ट ब्राण्डले ‘स्मार्ट वान’ एसयूभी मार्फत नेपाली बजारमा प्रवेश गर्नेछ । स्मार्ट ब्राण्ड जर्मन लग्जरी कार निर्माता मर्सिडिजको लगानी रहेको कम्पनी हो ।
चिनियाँ ब्राण्ड चेरीको सहायक कम्पनी जेको पनि चाँडै नेपाल आउन लागेको ब्राण्ड हो । जेकोका उत्पादन चेरीकै आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जेकोका उत्पादन नेपाल ल्याउने छ । कम्पनीले जे-सिक्स र जे-८ मोडल नेपाल ल्याउने छ ।
अर्को चिनियाँ ब्राण्ड केई पनि चाँडै बजारमा आउन लागेको छ । केई पनि चेरीकै लगानी रहेको ब्राण्ड हो । यसलाई अलगै कम्पनीले बजारमा ल्याउन लागेको बताइन्छ । केईले चेरी टिगो-फोर साइजमा एसयूभी नेपाल ल्याउन लागेको हो ।
ह्याचब्याक कारको बिक्री बढेसँगै नामी ब्राण्डको विद्युतीय कार नेपाल आउन लागेको हो । डोङफेङ मोटर्स ग्रुपको उत्पादन नामी-वान एमएडब्ल्यू ग्रुप अन्तर्गतको वृद्धि मोटोकर्पले ल्याउन लागेको हो ।
ट्याक्सीमा विद्युतीय कारको प्रयोग बढेसँगै डायुन ब्राण्ड नेपाल ल्याउन थुप्रै व्यवसायिक घराना लागिपरेका थिए । ती मध्ये सीजी मोटर्सले डायुनको आधिकारिक बिक्रेता पाएको चर्चा बजारमा छ । दुई साताअघि सीजीले डायुनको आधिकारीक बिक्रेताको जिम्मा पाएको बताइन्छ ।
यी सबै मोडलको बिक्री सुरू भएसँगै नेपाली बजारमा विद्युतीय कारमा प्रतिस्पर्धा थप रोचक बन्नेछ ।


