साइन १०० को सफलता बढ्दै, नेपाल पनि आउन सक्ने

काठमाडौं । होन्डाले गत वर्ष भारतीय बजारमा साइन १०० सार्वजनिक गरेको थियो । साइन १०० एक वर्षको अवधिमा १ लाख यूनिट बिक्री भएको हो ।

कम्पनीले इन्ट्री लेभल मोटरसाइकलमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न ल्याएको साइन १०० ले एक लाख यूनिटको माइलस्टोन पुरा गरेपनि भारतीय बजारमा १०० सीसी सेग्मेन्टमा हिरो स्प्लेन्डरको एकाधिकार जूतै छ । हिरोले इन्ट्री लेभल सेग्मेन्टमा ७५ प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगटेको छ ।

होन्डा साइन १०० मा ९९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ ब्रेकहर्स पावर र ८.५ एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा ४ स्पीडको गियरबक्स दिइएको छ ।

साइन १००मा १२४५ एमएमको ह्विलबेस पाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ भने सिटको उचाई ७८६ एमएम रहेको छ ।

होन्डा साइन १०० मा सेमी डिजिटल कन्सोल, हेलोजन हेडलाइट, एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्जिन किल जस्ता फिचरहरू छन् । स्प्लेन्डर प्लसमा भने हाई टेम्परेचर कन्ट्रोल, एनालग ट्रीपमिटर, एनालग ओडोमिटर, एनालग स्पिडोमिटर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम जस्ता फिचर्स समावेश छन् ।

नेपाली बजारमा पनि १०० सीसी मोटरसाइकल राम्रै बिक्री हुने गरेको छ । विशेषगरी नेपालको तराई क्षेत्रमा १०० सीसी मोटरसाइकल बिक्री हुने गरेको छ । हाल नेपाली बजारमा हिरो स्प्लेन्डर र बजाज १०० इएस बिक्री हुँदै आएको छ ।

नेपाली बजारमा होन्डाका मोटरसाइकलको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले साइन १०० ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनीले केही दिन अघि मात्रै एनएक्स २०० र एसपी १२५ सार्वजनिक गरेको थियो ।


Back_to_top