भ्याट तिरेर गाडी छुटाउन मिल्ने, त्रुटी सच्चाउन अझै समय लाग्ने

काठमाडौं । आर्थिक विधेयकले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने सूचीमा राखेसँगै गाडीको बिक्रीमा अन्योलता आएको थियो । अर्थमन्त्रालयले त्यो त्रुटीवस भएको भन्दै सच्याउने जनाएको छ ।

भन्सार कार्यालयहरुले भने आजबाट भ्याट तिरेर गाडी छुटाउन सकिने जनाएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका प्रमुअ भन्सार अधिकृत डा. रामप्रसाद मैनालीका अनुसार गाडी भन्सार जाँचपास हुने जानकारी दिए ।

‘अहिले हाम्रो सिस्टम नै परिवर्तन भएको छैन । भ्याट तिरेर गाडी जाँचपास गर्न सकिन्छ । मन्त्रालयले नै टेक्नीकल समस्याले त्रुटी भएको भनिसकेको छ । त्यसैले त्यो करेक्सनको बाटोमै होला । तर, यहाँ गाडी छुटाउन चाहनेले सबै कर तिरेर छुटाउन सक्छन्’, मैनालीले मेरोअटोसँग भने ।

आर्थिक विधेयकमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने बस्तुको सूची समावेश गरिएको छ । जसमा भन्सार जाँचपास गर्न प्रयोग हुने एचएस कोर्ड ८७०३ अन्तर्गतका पर्ने सवारीसाधनहरु समावेस भएका छन् । यसअघि अनुसूची १ मा एचएस कोड ८७०३ अन्तर्गत पर्ने एम्बुलेन्स र शवबाहन मात्रै समावेस थियो । अहिले सबै पेट्रोलियम पदार्थबाट चल्ने कारहरु परेको हो ।

अर्थमन्त्रालयले संसद सचिवालयमा पनि आर्थिक विधेयकमा भएको त्रुटी सच्याउनु पर्ने अवस्था आएको जनाउ दिइसकेको छ । यसले कानुनी प्रक्रिया पुरा गर्न भने अझै केही समय लाग्ने देखिएको छ ।

बजेटले भ्याट छुट दिएसँगै ब्यवसायीहरु नाकामा रहेका गाडी छुटाउन हिजोदेखि प्रयास गरिरहेका छन् । तर, केही कानुनी जटिलता भन्दै भन्सार जाँचपास भएको थिएन ।


Back_to_top