पाँच सय स्थानमा चार्जर पुग्दै, कुन ब्राण्डले कसरी गर्दैछ काम ?

काठमाडौं । विद्युतीय सवारीसाधनको आयात वृद्धिसँगै चार्जिङ पूर्वाधार निर्माणले तिब्रता पाएको छ । विभिन्न आयातकर्ता कम्पनीहरु र सरकारी एजेन्सीहरुको सहयोगमा ५०० स्थानमा चाँडै चार्जरहरु जडान हुने भएका हुन् ।

निजी क्षेत्रले विस्तार गर्दै आएको चार्जिङ नेटवर्क आफ्नो शोरुम वा सर्भिस सेन्टरमा केन्द्रित हुँदा उपभोक्ताले भने ठूलो फाइदा पाउन सकेका छैनन् । तर, सार्वजनिक यातायातको लागि निर्माण भएका चार्जिङ नेटवर्क भने आवश्यकताको स्थान छनोट गरेर हाइवेमा लगाइएको कारण उपभोक्ताले फाइदा पाएका छन् ।

अहिले निजी क्षेत्रमा सबैभन्दा धेरै चार्जर सिजी मोटर्सले लगाएको छ । सिजीले देशका विभिन्न स्थानमा १५० भन्दा बढी चार्जर लगाइरहेको छ । कम्पनीले सडकमा गाडीको संख्या वृद्धिसँगै चार्जर बढाउँदै लाने जनाएको छ ।

सिजीले सबैभन्दा धेरै ३८ स्थानमा बागमती प्रदेशमा चार्जर जडान गर्दैछ । लुम्बीनीको १२ स्थान, कोशीको ११ स्थान, मधेसको ७ स्थान, गण्डकीको ५ स्थान, कर्णालीको ३ स्थान र सुदुरपश्चिमको ५ स्थानमा जिबीटी चार्जर संचालनमा ल्याउने भएको हो । यी मध्ये धेरै चार्जर संचालनमा आइसकेको छ ।

सीसीएस-२ चार्जर भने कम्पनीले अहिलेसम्म केबल ३ स्थानमा लगाएको छ । साथै, २२ स्थानमा लगाउने काम चलिरहेको कम्पनीको भनाई छ ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले अहिलेसम्म ३० स्थानमा चार्जर लगाएको जनाएको छ । कम्पनीले १०० स्थानमा डिसी फास्ट चार्जर लगाउने योजना नै तयार पारेर काम गरिरहेको छ ।

त्यसैगरी निजी क्षेत्रबाट पहिलो पटक ठूलो संख्यामा डिसी फास्ट चार्जर लगाएको टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले अहिले २२ स्थानमा चार्जर संचालन गरिरहेको छ ।

एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले देशका २२ स्थानमा चार्जर पुर्याएको छ । कम्पनीले थप स्थानमा चार्जर जडानको योजना अगाडि बढाएको छ ।

एसआरएमको आधिकारीक बिक्रेता पुजा कन्ट्रक्सनले पनि २२ स्थानमा चार्जर संचालन गरिरहेको छ । उसले थप स्थानमा चार्जर लगाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विद्युतीय साधनको बिक्रीमा आक्रमक बन्दै गएको एमएडब्लू ग्रुपले १५ स्थानमा ६० किलोवाट क्षमताको चार्जर संचालनमा ल्याएको छ । साथै, उसले थप ४० स्थानमा चार्जर निर्माणको काम अगाडि बढाएको जनाएको छ ।

अहिले सिट्रोनले १२ स्थानमा, ओमोडाले १५ स्थानमा चार्जर जडान गर्दैछन् । यसका अलावा जिबीटी चार्जर जडानमा अन्य कम्पनीहरु पनि काम गर्दैछन् ।

किया, हुन्डाई जस्ता कम्पनीहरु पनि फास्ट डिसी चार्जर जडान गर्ने योजना बनाइरहेका छन् । उनिहरुले चार्जर संख्याको बिषयमा ठोस जानकारी बाहिर ल्याएका छैनन् ।

नेपाल विद्युत प्राधिकरणले पनि देशभर ६२ स्थानमा चार्जर निर्माण सम्पन्न गर्दैछ । निजी क्षेत्रबाट दिगो इ-स्टप र यूएसएडको सहयोगमा यात्री इनर्जीले पनि १६ स्थानमा चार्जर निर्माण गरेको छ । यी दुबै कम्पनीले थप स्थानमा चार्जर निर्माण गर्ने जनाएका छन् ।


Back_to_top