रेन्ज, फिचर र डिजाइनको कारणा चर्चा कमाउँदै इन्स्टर ईभी (फोटो फिचर)

काठमाडौं । हुन्डाईले बुसान अटो शोमा सार्वजनिक गरेको इन्स्टर माइक्रो एसयूभीको चर्चा विश्वभर सुरु भएको छ । कम्पनीले ग्लोवल मोडलको रुपमा ल्याएको इन्स्टर डिजाइन, साइज र फिचरको आधारमा चर्चा कमाउन सफल भएको हो ।

साइजको हिसावले झण्डै सब फोर मिटर एसयूभीभन्दा केही छोटो रहेको इन्स्टर इलेक्ट्रीक एसयूभीको लम्बाई ३८२५ एमएम, चौडाई १६१० एमएम र उचाई १५७५ एमएम छ । यसमा २५८० एमएमको ह्वीलबेस रहने छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध हुने एसयूभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यी दुई ब्याट्रीले फुलचार्जमा क्रमशः ३०० र ३५५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

ब्याट्री जस्तै यसमा मोटर पनि दुई फरक साइजमा पाउन सकिन्छ । जसमा ७१.१ किलोवाट र ८४.५ किलोवाट छ । टायर साइज पनि दुई अप्सनमा छ । कम्पनीले १५ र १७ इन्चको ह्वील यसमा प्रयोग गरेको छ ।

कम्पनीका अनुसार सानो ब्याट्री र सानो मोटर भएको मोडलको टप स्पीड क्षमता १४० किलोमिटर प्रतिघण्टा रहेको छ । तर, ठूलो मोटर र ब्याट्री भएको भेरियन्ट १५० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ ।

सानो एसयूभीको चार्जिङ क्षमता भने निकै फास्ट रहेको छ । यसले १२० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने भएकाले १० देखि ८० प्रतिशत चार्ज केबल ३० मिनेटमा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सुरक्षाको लागि दिएको एडास भित्र थुप्रै नयाँ फिचर पाउन सकिन्छ । कम्पनीले यसको बिक्री सुरू हुने मिति भने अहिलेसम्म घोषणा गरेको छैन ।

कम्पनीले ग्लोबल मोडलको रुपमा इन्स्टर ल्याउन लागेको कारण यो मोडल चाँडै नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top