काठमाडौं । टाटा मोटर्सको पछिल्लो विद्युतीय कार पन्चको बुकिङ लिन सुरु भएको छ । आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभीको बुकिङ लिन थालेको हो ।
कम्पनीले बुकिङकर्तासँग २५ हजार दिएर गाडी बुकिङ सुरु गरेको हो ।
‘हामीले बुकिङ रकम २५ हजार भनेका छौं । तर, कसैले त्योभन्दा थोरै लिएर आउनु भएको छ भने पनि बुकिङ गर्न सक्नुहुन्छ’, कम्पनीका सेल्सम्यानहरुले भने ।
नाडा अटो शो २०२४ मा मुख्य आकर्षण बनाउने गरी लन्चिङको तयारी रहेको पन्च ईभी अहिले देशका विभिन्न भेगमा परीक्षण चलिरहेको कम्पनीको भनाई छ ।
कम्प्याक्ट साइज र टाटाको पहिलो प्योर ईभी प्लेटफर्ममा बनेको कारण पन्चको पर्फमेन्स पनि थप सुधार भएको छ । नाडा अटो शोमा प्रदर्शनी हुने पन्च ईभी मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक मोडलमा उपलब्ध हुनेछ ।
कम्पनीले बुकिङ लिन थालेको भएपनि मूल्यको विषयमा केही जानकारी दिएको छैन । तर, सेल्स टीमका सदस्यले टप भेरियन्टको मूल्य ४० देखि ४२ लाखसम्म पर्न सक्ने बताए ।
सम्भवत दुबै मोडलमा थप भेरियन्टहरु आउने छन् । सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।
लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री रहने छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ ।
पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ । सुरक्षामा ५ स्टार रेटिङ पाउन सफल पन्च साना एसयूभी चढ्ने चाहना भएका मानिसको रोजाईमा पर्ने निश्चित छ ।


