मूल्याङ्कन र कर्जा सुविधा नहुँदा पुराना ईभी बेच्न गाह्रो

काठमाडौं । विश्व बजारमा नयाँ इलेक्ट्रीक कारहरु एकपछि अर्को आइरहेको छ । अझ नेपालमा त पेट्रोल कारको आयात हरेक महिना खुम्चदै गएको देखिन्छ । नयाँ गाडी बढेसँगै सेकेन्ड ह्याण्ड बजारमा ईभीहरु आउन थालेका छन् ।

नयाँ टेक्नोलोजीको विकास, मास प्रोडक्सन र हाइभोल्टेज ब्याट्रीको मूल्यमा निरन्तर आइरहेको गिरावटको कारण नयाँ ईभीको उत्पादन लागत घट्दै गएको छ । नयाँ गाडीको मूल्य नै घट्न थालेपछि विश्व बजारमा सेकेण्ड ह्याण्ड ईभीको मूल्य पनि प्रत्येक क्वाटरमा ठूलो मात्रामा गिरावट आएको देखिन्छ ।

ईभी उत्पादकहरुले पछिल्ला वर्षहरुमा धेरै फिचर र ब्याट्री पनि ठूलो प्रयोग गरेर ल्याउँदा पनि मूल्य घटाइरहेका छन् । नेपालको सन्दर्भमा भने ईभी दोस्रो बजार फाट्टफुट्ट मात्रै आएका छन् । यसरी आएका १/२ वर्ष पुराना ईभी दोस्रो बजारमा ३० देखि ४० प्रतिशतसम्म मूल्य घटाएर बेच्न बाध्य छन् ।

सकेन्ड ह्याण्ड गाडीका कारोबारीहरु दोस्रो बजारमा ईभी किन्न मूल्याङ्कन नै गर्न कठिन हुने बताउँदै आएका छन् । पहिला पेट्रोलियम पदार्थबाट चल्ने गाडी गुडेको किलाेमिटर र बनेको मितिलाई आधार बनाएर सजिलै मूल्याङ्कन हुन्थ्यो । ईभीमा त्यसरी मूल्याङकन गर्न नसकिने उनिहरु बताउँछन् ।

ईभीको मूख्य कम्पोनेन्टको रुपमा रहेको हाइभोल्टेज ब्याट्रीको लाइफमा आधारित हुने भएकाले ब्याट्री लाइफ चेक गर्ने सिस्टम सेकेन्ड ह्याण्ड कारोबार गर्नेले राखेका छैनन् । ईभीमा हाइ टेक्नोलोजी प्रयोग भएकाले यसको कण्डिसन आधिकारीक वितरकको सर्भिस सेन्टरले मात्र बताउन सक्छ ।

इलेक्ट्रीक कारहरु सेकेण्ड ह्याण्ड बजारमा बिक्री गर्न अर्को ठूलो समस्या कर्जा सुविधा नहुँनु हो । नयाँ ईभीलाई बैक तथा वित्तीय संस्थाहरुले सजिलै ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिन्छन् । तर, ३ महिना मात्रै गुडेको सेकेण्ड ह्याण्ड ईभीलाई पनि कसैले फाइनान्स सुविधा नदिने ब्यवसायीहरु बताउँछन् ।

नेपालमा सबैभन्दा बढि सेकेन्ड ह्याण्ड गाडी फाइनान्स गर्ने हुलास फिन स्रोतका अनुसार ईभीको सेकेन्ड ह्याण्ड बजारमा भोलुम धेरै नभएको र सिमित रकम आईस भेहिकलकै बिजनेशमा गइरहेको छ ।

कम्पनीका अनुसार सेकेण्ड ह्याण्ड ईभीको भ्यालुएसन स्ट्याब्लीस नभएकाले पनि रिफाइनान्सीमा समस्या भएको हो । यसको भ्यालुएसन गर्ने आधिकारीक निकाय भएमा फाइनान्स गर्न सकिने हुलास फिनको भनाइ छ ।

१० लाख मात्र डाउन पेमेन्ट गर्दा ५० लाखसम्मको नयाँ ईभी चड्न सकिन्छ तर, कर्जा सुविधा नहुँदा पुरानो ईभी चड्न जतिनै मूल्य घटायर दिएता पनि ३५/४० लाख रुपैयाँ चाहिने अवस्था छ । त्यसैले ईभी चढ्न चाहने ग्राहकहरु सजिलै नयाँमा आकर्षित भइरहेका छन् ।


Back_to_top