नेपालमा रोनिनको नयाँ भेरियन्ट बिक्री सुरू, मूल्य पनि सस्तियो

काठमाडौं । टीभीएस नेपालले रोनिन मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नियो रेट्रो मोटरसाइकल रोनिनको तीन नयाँ कलर अप्सन भेरियन्ट नेपालमा बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ भेरियन्ट रोनिनलाई लाइटिङ ब्ल्याक, मग्मा रेड र अगोन्डा एडिसन गरी तीन आकर्षक विकल्पमा उपलब्ध गराएको हो । कम्पनीले रोनिन लाइटिङ ब्ल्याक र मग्मा रेडको मूल्य ४ लाख २९ हजार ९०० तथा अगोन्डा एडिसनको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य पुरानो भेरियन्टको भन्दा सस्तो हो । नेपालमा पहिलैदेखि उपलब्ध रोनिनको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

पुरानोको तुलनामा नयाँ भेरियन्टमा केही फिचरहरू हटाइएका छन् । त्यसैले यी भेरियन्टको मूल्य कम भएको हो । हालै बजारमा उपलब्ध भएको रोनिनमा डबल च्यानल एबीएस, फ्रन्ट भाइजर र स्मार्ट कनेक्ट फिचर पाइँदैन । यसमा सिंगल च्यानल एबीएस सिस्टम दिइएको छ ।

रोनिन सुरूवातदेखि नै परम्परागत कम्युटर मोटरसाइकल र एड्भेन्चर मोटरसाइकल बीचको फरक पहिचान बोकेको मोडलका रूपमा परिचित छ । स्क्र्याम्बलर शैलीको डिजाइन, आरामदायी राइडिङ पोजिसन तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म उपयुक्त हुने विशेषताका कारण यसले बजारमा छुट्टै स्थान बनाएको छ ।

नयाँ रोनिनको सबैभन्दा धेरै ध्यान आकर्षित गर्ने भनेको अगोन्डा एडिसन भेरियन्टले हो । गोवाको प्रसिद्ध अगोन्डा बीचबाट प्रेरित यो विशेष संस्करणमा सिल्भर ह्वाइट कलर, आकर्षक रातो र निलो स्ट्रिप्स तथा विशेष ब्याजिङ प्रयोग गरिएको छ । लाइटिङ ब्ल्याक पूर्ण ब्ल्याक थिममा उपलब्ध छ भने मग्मा रेड आकर्षक रातो रंगका कारण बढी प्रिमियम देखिन्छ ।

फिचरको हिसाबले पनि टीभीएस रोनिन धेरै प्रतिस्पर्धीभन्दा अगाडि देखिन्छ । यसमा असिमेट्रिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रेन तथा अर्बन एबीएस मोड, स्लिपर क्लच, (जीटीटी)ग्लाइड थ्रु टेक्नोलोजी सिस्टम, पुरा लाइटिङ सेटअप र अपसाइड डाउन यूएसडी फोर्क जस्ता सुविधा उपलब्ध छन् ।

रोनिनमा २२५.९ सीसी क्षमताको सिंगल सिलिण्डर, आयल कुल्ड, एफआई इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १९.९ एनएम टर्क जेनेरेट गर्छ । पाँच स्पीड गियरबक्ससँग जोडिएको यो इन्जिन शहरभित्रको दैनिक प्रयोग र हाइवे यात्रालाई समान रूपमा ध्यानमा राखेर विकास गरिएको कम्पनीको दाबी छ ।


Back_to_top