चीनमा बनेका कारमा इयूको दोहोरो नीति, चिनियाँ उत्पादनलाई थप समस्या

काठमाडौं । युरोपियन युनियनले चीनमा बनेका कारमा लाग्ने कर संसोधन गरेको छ । इयूले गरेको संसोधनले चिनियाँ ब्राण्डका उत्पादनलाई थप कठिन बनाएको हो ।

यूरोप र अमेरिकी ब्राण्डले चीनमा उत्पादन गर्ने कारमा ब्यापक कर कटौतीको निर्णय लिएको इयूले चिनियाँ ब्राण्डका उत्पादनमा कर कटौती अचम्म लाग्दो तरिकाले गरेको हो ।

इयूको नयाँ निर्णय अनुसार अमेरिकी ब्राण्ड टेस्लाले चीनमा उत्पादन गरेका कारमा दुई महिना अघि घोषणा गरेको २०.८ प्रतिशत करलाई घटाएर ९ प्रतिशतमा सिमित गरेको छ । त्यस्तै बीएमडब्लु र फक्सवागेनका चीनमा निर्मित कारमा लगाइएको ३७.६ प्रतिशत करलाई घटाएर २१.३ प्रतिशत गरेको हो ।

अमेरिकी र युरोपियन ब्राण्डका मात्रै नभई चिनियाँ ब्राण्डका कारमा लगाइएको कर पनि घटाइएको छ । तर, चिनियाँ उत्पादनमा घटाइएको कर अचम्मको छ । बीवाइडीका कारमा यसअघि लगाइएको १७.४ प्रतिशत कारबाट १७ प्रतिशतमा झारिएको छ ।

त्यसैगरी चिनियाँ ब्राण्ड जिलीमा लाग्दै आएको १९.९ प्रतिशतलाई घटाएर १९.३ प्रतिशत र एसएआईसीका उत्पादनमा लाग्दै आएको ३७.६ प्रतिशतलाई ३६.६ प्रतिशतमा झारिएको हो ।

जुलाईमा इयूले नयाँ करका दर घोषणा गरेपछि अमेरिकी उत्पादकले इयूलाई पुनर्विचार गर्न आग्रह आग्रह गरेको थियो । अमेरिकी कम्पनी टेस्लाले चीनमा गाडी उत्पादन गर्दा अन्य चिनियाँ कम्पनीहरुले जस्तो सरकारबाट सहयोग प्राप्त गरेको छैन । तर, इयुले टेस्लाको सम्पूर्ण कर भने घटाएको छैन । टेस्लाले इयूको अनुसन्धानमा बजार दरभन्दा कम मूल्यमा ब्याट्री पाइरहेको छ ।

यसका अलावा चीनमा ईभी उत्पादन गर्न चाहने अटो कम्पनीहरुलाई राज्यले सस्तो जमिन, अत्यन्तै कम ब्याजमा लोन तथा ग्रान्टहरु पाउने गरेका छन् ।


Back_to_top