९ नयाँ इलेक्ट्रीक ब्राण्ड अटो शोमार्फत डेब्यू गर्दै

काठमाडौं । नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १६ औं संस्करणको अटो शो मार्फत ९ नयाँ चिनियाँ ब्राण्डले विद्युतीय गाडी बिक्री सुरु गर्दैछन् ।

उसोत नेपाली बजारमा प्रभाव छाडि सकेका ओमोडा र दिपलको पनि नाडा अटो शोमा सहभागिता पहिलो पटक नै हो । यद्यपि, सडकमा बाक्लो संख्यामा गाडी गुड्न थालेका यी दुबै ब्राण्ड नेपालीको लागि नयाँ भने होइन । अर्को जीएसी एवोनको लागि पनि यो पहिलो अटो शो हो ।

ब्यवसायीक घरानाले एकपछि अर्को ब्राण्ड थुपार्दै आएको कारण अटो शोमा धेरै ब्राण्डको सहभागिता हुने भएको हो । अटो शोमा सबैभन्दा धेरै ब्राण्ड सीजी मोटर्सले राख्दैछ । त्यसपछि सारडा ग्रुप, गोल्छा अर्गनाइजेशन, लक्ष्मी ग्रुप, एमएडब्लू ग्रुप लगायतले दुई वा दुईभन्दा धेरै ब्राण्डका कारहरु प्रदर्शनी गर्दैछन् ।

सीजी मोटर्सले नेटा, जीएसी एवोन, एक्सपेङ, रेडारा र अवतार ब्राण्डका चार पाङ्ग्रे साधन प्रदर्शनी गर्ने तयारी थालेको छ । सीजी मोटर्स अटो शोमा सबैभन्दा धेरै ब्राण्ड प्रदर्शनी गर्ने ब्राण्ड बन्ने भएको हो ।

यी हुन् अटो शो मार्फत डेब्यू गर्न लागेका ९ नयाँ ब्राण्ड

अटो शो मार्फत डेब्यू गर्न लागेका ब्राण्डको संख्या नै ९ वटा छ । जसमा सबै ब्राण्डहरु चिनियाँ हुन् । सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्राण्ड प्रदर्शनीमा राख्दैछ । यी तीनवटै ब्राण्ड नेपाली बजारमा प्रबेश गर्न लागेका हुन् ।

सारडा ग्रुप अन्तर्गत जिकर र जेको ब्राण्डले अटो शो मार्फत बिक्री सुरु गर्दैछ । गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्सले लिप मोटर्स र लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोविलिटीले केई ब्राण्ड लन्च गर्दैछन् ।

एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले डोङफेङ नामी ब्राण्ड लन्च गर्दैछ । साथै, एलआरआर ग्रुपले बीएडब्लू ब्राण्ड नेपाली बजारमा सार्वजनिक गर्दैछ ।


Back_to_top