बढ्दो हाइब्रिड क्रेज, एमजी जेडएस पनि हाइब्रिडमा आउने

काठमाडौं । विश्वभर हाइब्रिड कारको क्रेज तिब्र गतिमा बढ्दै गएको छ । सन् २०१८ देखि २०२३ सम्म विश्वभर हाइब्रिडभन्दा बढी चर्चा ईभीले पाएको थियो । तर, २०२३ को अन्तिम तिरबाट हाइब्रिड कारको चर्चा र बिक्री दुबैमा ठूलो वृद्धि आएको हो ।

नेपाली बजारमा सन् २०१७ देखि निरन्तर उपलब्ध एमजी जेडएस २०१९ मा इलेक्ट्रीकमा आएको थियो । नेपालमा अत्याधिक सफलता पाएको जेडएस ईभी यूरोपमा पनि निकै सफल मानिन्छ ।

विस्तारै हाइब्रिड कारको माग उच्च बन्दै जाँदा एमजीले जेडएस मोडललाई अब हाइब्रिडमा पनि ल्याउने भएको छ । नयाँ जेनेरेशन जेडएस बजारमा ल्याउने तयारी गरिरहेको एमजीले जेडएस हाइब्रिड ५ दिनपछि सार्वजनिक गर्दैछ । अगष्ट २६ तारिखमा एक कार्यक्रम आयोजना गर्दै जेडएस हाइब्रिड सार्वजनिक गर्न लागिएको हो ।

हाइब्रिड जेडएस मोडलको बिक्री कम्पनीले अष्ट्रेलियाबाट सुरु गर्न लागेको हो । अहिले बजारमा बिक्री हुँददै आएको जेडएस ईभीकै जस्तो साइड बडी डिजाइनमा देखिएको नयाँ हाइब्रिड मोडलको अगाडि भने ब्यापक परिवर्तन देख्न सकिन्छ ।

कम्पनीले एक टिजर सार्वजनिक गर्दै जेडएसको पेट्रोल हाइब्रिड मोडल आउन लागेको जानकारी दिएको हो । यसमा रहेको इन्जिन, मोटर, ब्याट्री र रेन्जका विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।

हाइब्रिड जेडएस मोडल नेपाल आउँछ वा आउँदैन भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी दिएको छैन ।

एमजीले जेडएस ईभीको नयाँ जेनेरेशन मोडल यहि वर्षको अन्तिममा बजारमा ल्याउने भएको छ । नयाँ जेडएस ईभी पहिलेको भन्दा विल्कुलै फरक डिजाइन, फिचर र इन्टेरियरमा उपलब्ध हुनेछ ।


Back_to_top