काठमाडौं । साइमेक्स इंकले न्यु इनर्जी भेहिकल लिडर बीवाइडीसँगको सहकार्यमा ‘साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन’ स्थापना गर्ने घोषणा गरेको छ ।
उक्त फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीको दावी छ ।
फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाइडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।
यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक गाडी वापत १० हजार रुपैयाँ साइमेक्स बीवाइडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे ।
साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे ।
शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित बताइएको छ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पु¥याउन समर्पित गरिने छ ।
बीवाइडी नेपालका ब्राण्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाइडीले समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई दिए ।
लिउ स्वेलियाङले आफ्नो भनाई राख्दै भने, ‘साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर
भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो ।’


