काठमाडौं । बहुप्रतिक्षित टाटाको पन्च ईभी एकैपटक नेपालका चार सहरमा लन्च गरिएको छ । उपत्यका बाहिरका प्रमुख सहरहरू चितवन, पोखरा, बुटवल र भैरहवामा सोमबार पन्च ईभी लन्च गरिएको हो ।
धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ ।
साथै, चारै सहरमा पन्च ईभी लन्चसँगै यसअघि गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए ।
टाटा पन्च ईभीको सुरूआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् ।
पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । यसले बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।


