‘एमजी विन्डसर’को दशैं लगत्तै बुकिङ खुल्न सक्ने, यस्ता छन् ५ बलिया पक्ष

काठमाडौं । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले भारतमा बनेको विन्डसर इलेक्ट्रीक ‘सीयूभी’ (कम्प्याक्ट यूटिलिटी भेहिकल) दशैं लगत्तै नेपाल ल्याउन सक्ने जनाएको छ ।

‘अहिले मूल्य लगायतका विषयमा छलफल भइरहेको छ । चाँडै टुङ्गो लगाएर बुकिङ खुलाउने छौं,’ कम्पनी स्रोतले भन्यो ।

भारतमा दुई साता अगाडि नै सार्वजनिक भएको विन्डसर नेपाल आउने पारामाउन्ट मोटर्सले यसअघि नै जनाएको थियो । जिन्दाल समूहको प्रवेशसँग भारतमा एमजी निकै आक्रमक बजार विस्तारमा लागेको छ । त्यही कारण कम्पनीले भारतको लागि ब्याट्रीमा ‘लाइफ टाइम वारेन्टी स्कीम’ समेत ल्याएको छ । नेपालमा भने यस्तो स्कीम उपलब्ध हुने सम्भावना कम छ ।

फरक डिजाइनमा बनाइएको एक्सटेरियर

एमजीले विन्डसरको डिजाइनलाई ‘एरोग्लाइड डिजाइन’ भनेको छ । यसमा ठूला एसयूभीको जस्तै १८ इन्चको डायमण्ड कट अलोय ह्वील दिएको छ । स्मार्ट फ्लस डोर ह्याण्डल र इलुमुनेटेड एमजीको लोगो प्रयोग गरिएको छ ।

यसको अगाडिको डिजाइन पृथक छ । ठूलो भिजन रुफ, ढोकाहरूमा प्रयोग भएको क्रोम फिनिसिङ, प्रोजेक्टर एलईडी हेडल्याम्प र पछाडि स्मार्टफलो एलईडी टेल ल्याम्प दिइएको छ ।

फराकिलो इन्टेरियर

विन्डसर साइजमा पनि निकै ठूलो छ । यसको लम्बाइ ४२९५ एमएम, चौडाइ २१२६ एमएम र उचाइ १६७७ एमएम छ । यसको चौडाइ कम्प्याक्ट एसयूभीहरू भन्दा ठूलो छ । त्यसैले यसको क्याबिनमा प्रसस्त ठाँउ उपलब्ध छ ।

सिल प्लाष्टिकको प्रयोगबाट बनेको ड्यासबोर्ड, स्पेयर टायर, पछाडि बस्नेलाई पनि इन्टरटेन्टमेन्ट युनिट, ड्यासबोर्ड अर्गनाइजर, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर पाउन सकिन्छ । यसका अलावा ९ वटा स्पीकर, आफ्नो सहजता अनुसार ६०ः४० मा ढल्काउन मिल्ने सिट दिइएको छ ।

नाइट ब्ल्याक कलरमा यसको इन्टेरियर उपलब्ध छ । टप भेरियन्टमा गोल्ड इन्टेरियर पाउन सकिन्छ । लेदर सिट, एम्बियन्ट लाइट, एलईडी ल्याम्प र पीएम २.५ फिल्टर उपलब्ध छ ।

सुरक्षामा फिचरै फिचर

एमजीले भारतमा उत्पादन गरेको विन्डसर ईभीको क्र्यास टेष्ट रिपोर्ट आएको छैन । तर, गाडीमा सुरक्षाको लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल छ ।

आपतकालीन अवस्थामा स्टप सिग्नल दिने कारमा ३६० डिग्री क्यामेरा, रियर पार्किङ क्यामेर र सेन्सर दिइएको छ । साथै, चारवटै चक्कामा डिस्क ब्रेक, अटो होल्डदेखि इलेक्ट्रीक पार्किङ ब्रेकसम्म पाउन सकिन्छ ।

मोटर र ब्याट्री साइज

विन्डसरमा १०० किलोवाट आवरको मोटर दिइएको छ । साथै, कम्पनीले यसमा ३८ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा पीकटर्क २०० एनएम पाउन सकिन्छ भने ब्याट्रीले सिंगल चार्जमा ३३२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

सीसीएस-२ चार्जिङ पोर्ट उपलब्ध कारमा १८६ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा २७०० एमएम लामो ह्वीलबेस उपलब्ध छ ।

मूल्य

भारतमा तीन भेरियन्टमा उपलब्ध विन्डसर एक्साइटको मूल्य १३ लाख ४९ हजार, विन्डसर एजुकेटिभको १४ लाख ४९ हजार र विन्डसर इसेन्सको मूल्य १५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यसको मूल्य ३५ लाखदेखि ४० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top