नेपालमै बन्यो इन्ट्री भेरियन्ट भेन्यू, फिक्स प्राइस घोषणा

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यूको सबैभन्दा अफोडेबल भेरियन्ट ‘भेन्यू ई’को उत्पादन सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्यू को व्यवसायिक उत्पादन सुरु गरेसँगै ‘हुन्डाई नेपाल मेड फर जर्नी’ क्याम्पेन पनि सुरु गरेको थियो। नेपालमा बनेको भेन्यू हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ।

हुन्डाई भेन्यू ईको प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूको अन्य भेरियन्टहरुको मूल्य भेन्यू एस १.२ लिटरको ४४ लाख ९६ हजार र भेन्यू एसएक्स १.२ को मूल्य ५३ लाख ९६ हजार कायम गरिएको छ । कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यू’मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । चाँडै कम्पनीले थप भेरिएन्ट र अन्य मोडेलहरु पनि उत्पादन गर्दै जाने योजना सार्वजनिक गरेको छ ।


Back_to_top