रतन टाटाको कार कलेक्सन, सोखः बन्यो सफल ब्यवसाय

काठमाडौं । भारतीय उद्योग जगतलाई नयाँ दिशा दिदै देशकै दोस्रो ठूलो नागरिकको दर्जा हासिल गरेका रतन टाटा कारका निकै सोखिन थिए । उनकै सोखः र चाहनामा टाटाले सन् १९९८ बाट कार उत्पादन थालेको थियो ।

टाटाको पहिलो कार इन्डिकादेखि टाटा नानोसम्म उनको ड्रिम प्रोजेक्ट भित्रका कार थिए । टाटा इन्डिका सानो डिजेल कारको रुपमा निकै चर्चित बनेको थियो । फ्यामली ह्याचव्याक सेग्मेन्टमा त्यति बेला बजारमा रहेका हुन्डाई सेन्ट्रो र सुजुकी वागेनआरसँग प्रतिस्पर्धामा खरो उत्रेर इन्डिकाले धेरैको मन जित्न सफल भएको थियो ।

टाटा नानो कारको विषयमा एउटा कहानी नै बनेको छ । रतन टाटा एक दिन वर्षादको समयमा कार लिएर घुम्दै थिए । त्यति वेला एउटा मोटरसाइकलमा परिवारका ४ जनाले भिज्दै यात्रा गरेको देखेपछि बजेट कार उत्पादन गर्ने कुरा उनको मनमा उब्जेको बताइन्छ । त्यसपछि सन् २००८ मा उनले १ लाख भारतीय रुपैयाँमा नानो कार लन्च गरेका थिए ।

सन् १९९० देखि निरन्तर २०१२ सम्म टाटा ग्रुपको नेतृत्व गरेका रतन टाटा त्यसपछि भने साइरस मिस्त्रीलाई नेतृत्व हस्तान्त्रण गर्दै विदा भएका थिए । पछि साइरस मिस्त्रीले उनको ड्रिम प्रोजेक्ट ‘नानो कार’ बन्द गर्दिएसँगै दुई बीच समस्या सृजना भएको मिडिया रिपोर्टहरुले दावी गरेका थिए ।

साइरस मिस्त्रीको दुई वर्ष अगाडि कार दुर्घटनामा मृत्यू भएको थियो । जे होस् अहिले टाटाका कारहरु सुरुवाती दिनका भन्दा निकै स्मार्ट बन्न थालेका छन् । आधुनिक टाटाका कारमा आफ्नो सृजनाशिलतालाई हेर्दै रतन सदाको लागि विदा भएका छन् । भारतीय उद्योग जगत र संसारकै उद्यमीहरुको बीचमा भने उनि सधैं चर्चा योग्य पात्र भएर विदा भएका हुन् ।

यस्तो थियो उनको कार कलेक्सन

रतन टाटा आफैँ कार चलाएर यात्रा गर्न मन पराउँथे । त्यसैले त स्टील र कमर्शियल गाडीको ब्यापारमा चम्किरहेको टाटालाई उनले कार ब्यवसायमा प्रबेश गराए ।

कार प्रति उनको चाहनालाई उनको ग्यारेजमा रहेका कारले पनि दर्शाउँछ । उनिसँग ग्यारेजमा फरारी क्यालिफोर्निया, आर १२९ मर्सिडिज ५०० एसएल, क्याडिलेक एक्सएलआर, १९६० को लिंकन टाउन जस्ता कार थिए । उनको ल्याण्डरोभर प्रतिको चाह निकै धेरै थियो । उनको ग्यारेजमा ज्यागुअर ल्याण्ड रोभरको थुप्रै मोड सजिएका छन् ।

उनको ग्यारेजमा राखिएका कारहरु शोरुममा राखिएका नयाँ कारकै जस्तो अवस्थामा रहेको बताइन्छ । उनले हरेक कारको लागि स्पेशल मेटेरियलको प्रयोग गरेर कभर बनाएका थिए । उक्त कभरले गाडीलाई स्क्र्याच लाग्नबाट जोगाउने छ ।


Back_to_top