पानासोनीकले बनायो पाँच गुणा बढी रेन्ज दिने सस्तो ब्याट्री, ईभी उद्योगमा क्रान्ति हुने

काठमाडौं । विश्वभर विद्युतीय साधनको भविष्यलाई लिएर यति बेला ठूलै चर्चा चलिरहेको छ । मास मार्केटमा टोयोटादेखि मर्सिडिज र बीएमडब्लू जस्ता प्रिमियम ब्राण्डहरुले ईभी योजनालाई धकेल्दै हाइब्रिड र हाइड्रोजन फ्यूलसेलमा काम गर्दै आएका छन् ।

विद्युतीय साधनको मातृभूमी भनेर चिनिने चीनमा पनि ईभीको तुलनामा हाइब्रिडमा कम्पनीहरु केन्द्रित भएका छन् । बीवाइडीदेखि चीनका स्थापित ब्राण्डहरु जिली, चेरी, ग्रेटवाल मोटर्स जस्ता ब्राण्डहरु हाइब्रिड र रेन्ज एक्सटेन्डर मोडलमा केन्द्रित भएका हुन् । यसले विश्वभर ईभीका विषयमा नयाँ बहस सृजना गरिरहेको समयमा जापानी कम्पनी पानासोनीकले नयाँ लिथियम आयोन ब्याट्री सार्वजनिक गरेको छ ।

पानासोनीकले देखाएको लिथियम आयोन ब्याट्रीले रेन्ज बढाउने, पावर र तिब्र गतिमा चार्ज गर्न सकिने छ । जापानी टेक जाइन्जले आफ्नो ब्याट्री बजारमा आएपछि ईभीमा नयाँ क्रान्ति हुने दावी गरेको छ । कसरी भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

पानासोनीकले अहिलेसम्म दिएको जानकारी उसको ब्याट्रीमा रहने सेलको विषयमा मात्रै हो । सामान्यतया अहिले लिथियम आयोन ब्याट्री बनाउदा २१७० सेल प्रयोग भएको हुन्छ । साथै, ब्याट्रीको साइज २१ मिलिमिटर गोलो र ७० मिलिमिटर लामो हुनेगर्छ । तर, पानासोनीकले आफ्नो नयाँ ब्याट्रीमा ४६८० सेल, ४६ मिलिमिटर गोलो र ८० मिलिमिटर लामो हुने जनाएको छ ।

कम्पनीका अनुसार उसको ४६८० सेल भएको ब्याट्रीले अहिले बजारमा उपलब्ध लिथियम ब्याट्रीको तुलनामा ५ गुण बढी पफर्मेन्स गर्न सक्छ । मूल्यका हिसावले पनि यो ब्याट्री अहिले चल्तीको ब्याट्रीभन्दा सस्तो पर्ने कम्पनीको दावी छ ।

पानासोनीकले यहि ब्याट्री उत्पानको लागि जापानमा ६ लाख ५५ हजार स्क्वायर फिटमा विशाल फ्याक्ट्री तयार पारेको छ । यसबाट पहिलो उत्पादन २०२५ मार्चमा हुने कम्पनीले जनाएको छ ।


Back_to_top