काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले चीनबाट इएस-फाइभ क्रसओभर एसयूभीको डिटेल सार्वजनिक गरेको छ । कम्पनीले एमजी फोरको प्लेटफर्ममा तयार पारेको इएस-फाइभ ४९.१ र ६२.२ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सनसहित बजारमा आउने भएको हो ।
एसएआईसी र सिएटीएलको साझेदारी अनुसार तयार भएको ब्याट्रीले सीएलटीसी रेन्ज ४२५ देखि ५२५ किलोमिटरसम्म दिने बताइएको छ । एमजी इएस-फाइभको टप स्पीड क्षमता १७० किलोमिटर प्रतिघन्टा रहने छ ।
कम्पनीले यसमा फाइभ लिंक रियर सस्पेन्सन सिस्टम दिएको छ । गाडीको लम्बाई ४४७६ एमएम, चौडाई १८४९ एमएम र उचाई १६२१ एमएम रहने छ । यसमा ह्वील वेस पनि २७३० एमएम लामो पाउन सकिने छ । अर्को महत्वपूर्ण कुरा यसको टर्निङ रेडियस केबल ४.२४ मिटर मात्रै रहने कम्पनीले जनाएको छ ।

एमजीले नयाँ एसयूभीमा १२५ किलोवाट क्षमताको मोटर दिएर चीनमा ल्याउने छ । यसको पीकटर्क भने २५० एनएम हुनेछ । सीएटीएलका अनुसार यसमा केबल ११० एमएम बाक्लो ब्याट्री प्रयोग भएको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री दावी गरिएको छ ।
निकै धेरै आधुनिक फिचरको लामो लिष्ट उपलब्ध हुने इएस-फाइभ मा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, लामो र स्मार्ट इन्ट्रुमेन्ट क्लष्टर रहेको इएस-फाइभको ड्यासबोर्ड निकै स्मार्ट देखिएको छ । सिंगल करलमा सजिएको ड्यासबोर्ड र नयाँ स्टेरिङ ह्वीलको कम्बीनेसन उत्कृष्ट छ । यसको सेन्टर कन्सोल पनि निकै आकर्षक देखिएको छ ।

निकै पातलो एलइडी डे डाइम रनिङ लाइट र सार्प एलइडी हेडलाइट दिइएको एसयूभीको पछाडि वाई आकारको टेल लाइट दिइएको छ । ठूलो पानारोमिक सनरुफ, १७ र १८ इन्चको दुई फरक साइजको ह्वील अप्सनमा आउने इएस-फाइभमा विल्कुलै नयाँ डिजाइनको अलोय ह्वील प्रयोग गरिएको छ ।
डिसेम्बरबाट अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने नयाँ मोडल जनवरी २०२५ बाट नेपालमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

