काठमाडौं । पछिल्ला ५ वर्ष अर्थतन्त्रको हिसाबले निकै निराशाजनक बन्यो । कोभिड-१९ को महामारीदेखि बैंकिङ प्रणालीमा चरम तरलता अभावसम्म झेल्नुपर्यो । सन् २०२० को सुरूआतमै लकडाउन झेलेको देशले त्यसपछिको समय पनि निकै कठिन पूर्णरूपमा बितायो ।
अर्थतन्त्र संकुचनमा गएसँगै बजारमा कार बिक्री उत्साहजनक हुने कुरै भएन । सन् २०२० मा ७ हजार ९९६ युनिट कार बिक्री भएको थियो । जसमा ७ हजार ५३३ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार थियो । विद्युतीय कारले खासै बजार लिन नसकेको त्यो समयमा केबल २६३ युनिट कार बिक्री भएको थियो ।

सन् २०२१ कोभिड-१९को निरन्तर असरको बाबजूद राज्यले धेरै रकम लगानी गर्दा धेरै क्षेत्रले रफ्तार समात्यो । बजारमा खर्च गर्न सक्ने मानिस बढेसँगै कारको बिक्री पनि बढ्यो । सन् २०२१ मा १७ हजार १८८ युनिट कार बिक्री भएको थियो । जसमा १६ हजार २१२ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भयो । जबकी त्यो वर्ष ९७६ युनिट कार बजारमा आएको थियो ।

सन् २०२२ मा फेरि कारको बिक्री घट्यो । त्यतिबेला ७ हजार ४३२ युनिट कार आयात भएको थियो । उक्त आयातमा पेट्रोलियम पदार्थबाट चल्ने कार ५ हजार १४० युनिट आयात हुँदा विद्युतीय कारको आयात २ हजार २९२ युनिट भयो ।
विद्युतीय साधनको प्रयोग व्यापक भएको सन् २०२३ मा हो । यस वर्ष विद्युतीय कार ६ हजार ७६१ युनिट आयात हुँदा पेट्रोलियम कारको आयात ३ हजार ३५२ युनिट भयो । यस वर्ष कुल १० हजार ११३ युनिट आयात भयो ।

चालु आर्थिक वर्ष २०२४ को अक्टोबर १५ तारिखसम्मको आयातलाई हेर्ने हो भने ईभीको आयात ७ हजार ९८२ युनिट पुगेको छ । जबकि पेट्रोल कारको आयात न्यून हुँदै गएको छ । यस अवधिमा २ हजार ८८४ युनिट मात्रै पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको देखिन्छ ।

विगत ५ वर्षमा ५३ हजार ३९५ यूनिट कार आयात भएका छन् । त्यसमा ३५ हजार १२१ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आएका छन् भने १८ हजार २७४ यूनिट ईभी आयात भएका छन् ।

