काठमाडौं । लामो प्रतिक्षापछि हिरो मोटोकर्पले एक्सपल्स २१० सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इआईसीएमए (इक्मा) अटो शो २०२४ मा एक्सपल्स २१० सार्वजनिक गरेको हो ।
इक्मा अटो शोमा प्रदर्शनीमा राखिएको उक्त एक्सपल्स २१० हिरो मोटोकर्पले जनवरीमा आयोजना हुने भारत मोबिलिटी शो २०२५ मा समेत प्रदर्शन गर्ने भएको छ ।
त्यसको केही समयपछि कम्पनीले एक्सपल्स २१० बिक्री सुरू गर्ने भएको हो । हिरो मोटोकर्पले हालै सार्वजनिक गरेको करिज्मा २१० मा प्रयोग भएको इन्जिन नयाँ एक्सपल्समा प्रयोग गरेको हो ।
कम्पनीले एक्सपल्स २०० फोर भीकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ भने यसमा धेरै परिर्वतनहरू गरेको छ । नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याएको छ । यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ । यसको मूल्य बारे कुनै जानकारी बाहिर नआए पनि भारतीय बजारमा सार्वजनिक हुँदा १ लाख ५५ हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।


